माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकलाई शुल्क तोकिएकोमा टानद्वारा सरकारलाई धन्यवाद ज्ञापन
टुरिजमफेस
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले नेपाल-चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क तोकेकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
टानले एक विज्ञप्ति जारी गर्दै सबै ट्रेकिङ एजेन्सीहरूका तर्फबाट अध्यागमन विभाग, गृह मन्त्रालय र सरकारलाई धन्यवाद ज्ञापन गरेको हो ।
सरकारले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकलाई शुल्क तोक्ने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति दिनको मात्रै पैसा तिरे पुग्नेछ ।
यसअघि माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकले कम्तीमा १० दिनका लागि ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । माथिल्लो मुस्ताङमा १० दिनको एकमुष्ट पदयात्रा शुल्क तिरेर गएका विदेशी नागरिकहरूले १० दिन कटेपछि प्रतिदिन प्रतिव्यक्ति ५० डलर शुल्क बुझाउँदै आएका थिए ।
साथै टानले डोल्पा क्षेत्रको पदयात्रामा जानका लागि प्रतिव्यक्ति १० दिनका लागि पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा तिरेर पदयात्रा अनुमति पत्र लिनुपर्ने हालको व्यवस्थालाई परिमार्जन गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, निषेधित क्षेत्रहरुको पदयात्राका लागि २ जनाको समुहमा मात्रै विदेशी पर्यटकहरू जान पाउने हालको नियम परिवर्तन गर्दै एक जनालाई पनि जान पाउने व्यवस्था गर्न टानले आग्रह गरेको छ ।

