चिसोले पञ्चकुण्ड ताल जम्यो, पर्यटकको आकर्षण झनै बढ्यो
टुरिजमफेस
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा रहेको प्रसिद्ध ‘पञ्चकुण्ड ताल’ चिसो बढेसँगै जमेपछि एक ढिक्का बनेको छ । ताल जमेकाले यसको सतहमै हिँड्न सकिने अवस्थामा पुगेको स्थानीयहरूले बताएका छन् ।
समुद्री सतहबाट ४,१०० मिटर उचाइमा अवस्थित करिब २० हजार वर्गमिटर क्षेत्रफल भएको यो ताल अन्नपूर्ण हिमाल आरोहण तथा आधार शिविर भ्रमणमा आउने पर्यटकको मुख्य गन्तव्य मानिन्छ । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले ‘पञ्चकुण्ड’ नामकरण गरिएको मौरिस हर्जोग पदमार्गका अभियानी तेज गुरुङले बताए ।
उनका अनुसार सन् १९५० तिर हिमाल आरोहीलाई लिएर आएका शेर्पाहरूले यस ताललाई ‘डिकिचो ताल’ नाम राखेका थिए । नारच्याङबाट मौरिस हर्जोग पदमार्ग हुँदै दुई दिनको यात्रामा सहजै पञ्चकुण्ड तालमा पुग्न सकिन्छ ।
ताल परिसरबाट अन्नपूर्ण, फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृष्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। सोही पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिस हर्जोग पदमार्ग’को औपचारिक पहिचान गरिएको थियो ।
अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनार, अग्ला झरनाहरू, अनौठो भू–भाग, दुर्लभ वनस्पति तथा वन्यजन्तु अवलोकन गर्दै हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । बेनीका सन्दिप खत्रीका अनुसार वरपर सेताम्मे हिमाल र जमेर बरफ बनेको पञ्चकुण्ड तालले क्षेत्रलाई झनै रमणीय बनाएको छ ।
चिसो बढेसँगै पदयात्रामा आउने संख्यामा भने केही कमी आएको स्थानीय होटल व्यवसायी माइकल पुनले बताए । दशैं, तिहार र छठपर्वका बिदामा दैनिक २००–३०० पर्यटक आउने गरेकोमा हाल करिब ५० जना हाराहारीमा सीमित भएको उनले जानकारी दिए ।
असोज–कात्तिकको शरदयाममा मात्र १५ हजारभन्दा बढी पर्यटक आधार शिविर पुगेको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।
