मनाङमा मौसम खुल्दा बढायो पर्यटक, तपाई पनि जाने होइन ?
टुरिजमफेस
मनाङ मनसुन सकिएसँगै हिमाली जिल्ला मनाङको मौसम खुलेपछि यहाँ पर्यटक आगमनमा चहलपहल बढ्न थालेको छ। विदेशी पर्यटकका लागि ‘उच्च सिजन’ मानिने याम सुरु भएको डेढ महिनामै सात हजारभन्दा बढी पर्यटक मनाङ पुगेका छन् ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार डेढ महिनामा ७ हजार ४६१ पर्यटकले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ, लार्के पास र तिलिचो ताल क्षेत्र भ्रमण गरेका छन्। इसराइलबाट मात्रै १,१२७, जर्मनी ५०१, बेलायत ४६६ र अस्ट्रेलियाबाट ४४१ पर्यटक आएका छन्। कुल ८७ देशका नागरिकले मनाङ भ्रमण गरेको एक्यापले जनाएको छ ।
गुरुङका अनुसार जेनजी आन्दोलन, मनसुन र बाढी–पहिराका कारण केही समय यतैको पर्यटन सुस्त भए पनि अहिले फेरि गति लिन थालेको छ। “मनाङमा चहलपहल बढेपछि स्थानीय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रले पनि गति पाउने अपेक्षा गरिएको छ,” उनले भने ।
पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार आन्दोलनका कारण होटल बुकिङसमेत रद्द भएका थिए। “अहिले शान्त वातावरण बन्दै गएपछि आगमन बढेको छ,” उनले बताए । होटल व्यवसायी नवीनविक्रम सिंहले पनि हाल बन्द भएका बुकिङ पुनः सक्रिय हुन थालेको बताए । “अझै पर्याप्त पर्यटक आएका छैनन्, तर आगमन बढ्ने संकेत देखिन्छ,” उनले भने। उनको भनाइमा हिल्टन होटलमा भएको आगजनी घटनाले केही विदेशी पर्यटक त्रसित बनेका थिए ।
पहिले जस्तै पदमार्ग र सडक क्षेत्रमा ठूलो भीड नभए पनि स्थानीय व्यवसायीले याम थप सक्रिय हुने अपेक्षा राखेका छन्। मनाङ–मुस्ताङ हुँदै पोखरा पुगिने विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग हाल झन् जोखिमयुक्त भने पनि आकर्षक गन्तव्यका रूपमा कायम छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेसीसहरबाट सुरु हुन्छ। लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जोडिने यो पदमार्ग विश्वकै १०औँ जोखिमयुक्त ट्रेकमध्ये एक मानिन्छ। सडक सुगम बन्दै गएपछि पछिल्लो समय चामे र खाङ्सारसम्म सवारीमै पुग्ने पर्यटकको संख्या बढेको छ, त्यसपछि मात्र पदयात्रा सुरु गर्ने गरिएको पाइन्छ ।
मनाङ आउने विदेशीले यहाँको हिमाल–पहाड, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कार–संस्कृति र मौलिक जीवनशैली नजिकबाट अनुभव गर्न चाहने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
साथै, पछिल्लो समय स्वदेशी पर्यटक पनि ग्रामीण पर्यटन र जोखिमयुक्त पदयात्रामा बढ्दो रुचि देखाइरहेका छन् ।
