काठमाडौंमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
टुरिजमफेस
काठमाडौं । काठमाडौंमा निस्शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । बागमती प्रदेशमा पर्यटन र फोटो पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मंगलबारदेखि दुई दिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको हो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ काठमाडौं शाखासँगको सहकार्यमा दुई दिने तालिम सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै परियोजना प्रबन्धक धर्मराज दवाडीले यस तालिमले नेपालका कथाहरु अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “दिगो पर्यटन परियोजनाले मुख्य गरी तीन वटा पदमार्गहरुलाई लक्षित गरी काम गरिरहेको छ । अपि, सैपाल, मनास्लु र कञ्चनजंघा गरी तीन वटा पदमार्गहरुमा पूर्वाधार विकास र सेवाको गुणस्तर वृद्धिका लागि विभिन्न तालिम तथा अभिमुखिकरण कार्यक्रहरु सञ्चालन गरिएको छ । यसका साथै पर्यटन क्षेत्रमा संलग्न व्यक्तहरुको क्षमता अभिवृद्धि गराउँदा मानव स्रोतको अभावलाई पूर्ति गर्ने हाम्रो विश्वास छ ।“ पत्रारहरुलाई दिइएको यस तालिमले नेपालका पर्यटकीय गन्तव्य र पर्यटन उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमासमेत सहयोगी हुने परियोजना प्रबन्धक दवाडीले जानकारी गराएका हुन् ।
उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गर्दै भने, “सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् ।
तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक सुनिल चुडामणी बज्राचार्यले क्यामेराको इतिहास, क्यामरा सञ्चालनका प्राविधिक तरिकाहरु, फोटो फिचर तयारी र फोटोको महत्वबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा दोस्रो दिन बुधबार तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलगायतका विभिन्न जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
