१० विकास नायक सम्मानित
टुरिजमफेस
काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् । विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्र्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक २०८२’ बा सम्मानित भएका हुन् ।
यस्तै, सृजनशील र निष्ठापूर्ण व्यवसायतर्फ सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की तथा कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएका हुन् ।
अर्थमन्त्री खनालले पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्थामा विकास मिडियाले गरेको सम्मानले उत्प्रेरणा र थप काम गर्न उर्जा थप्ने धारणा राखे । उनका अनुसार देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मनोबल उच्च बनाउन आवश्यक छ ।
कार्यक्रममा विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले चौतर्फी रुपमा निराशा फैलिरहेको बेला सञ्चारमाध्यमबाट हुन सक्ने सिर्जनशील र उत्प्रेरणामुलक कामले व्यक्तिलाई थप प्रोत्साहन गर्ने बताए । ‘विकास मिडिया रचनात्मक र सकारात्मक सन्देश प्रवाहमा सधैं प्रतिवद्ध छौं, व्यक्ति र व्यवसायीलाई थप उर्जा भर्नका लागि हामीले हाम्रो तर्फबाट हुने सक्ने कदम चालेका हौं,’ उनले भने ।
विकास नायक निर्णायक समितिका संयोजक कृष्णहरि बास्कोटाले आआफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई निष्पक्ष ढंगबाट छनोट गरेर सम्मानित गरेको बताए । उनका अनुसार १० वटा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरिएको हो ।
