कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ उद्यम नाफामा
टुरिजमफेस
काठमाडौं । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१-८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो ।
स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृत्ति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोतसाधनको पहुँच अवस्था तथा यस्ता व्यवसायले भोग्नुपरेका समस्याको पहिचान गरी समस्या समाधानका उपायसहित राष्ट्र बैङ्कले प्रतिवेदन तयार पारेको हो । जसका लागि औद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’मा परेका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी यस अध्ययनका लागि १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच वटा व्यावसायिक क्षेत्र समावेश छन् । जसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन, उत्पादनमूलक १८ दशमलव एक, सेवामूलक १७ दशमलव पाँच, पर्यटन १३ दशमलव आठ र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार प्रतिशत उद्यम रहेका छन् ।
कोशी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रको रूपमा ४३ दशमलव एक प्रतिशतले कृषि तथा वनजन्य, २१ दशमलव तीन प्रतिशतले पर्यटन, १३ दशमलव आठ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, आठ दशमलव एक प्रतिशतले सूचना प्रविधि र समान एक दशमलव नौ प्रतिशतले उर्जामूलक तथा निर्माण क्षेत्रलाई राखेका छन् । त्यस्ता स्टार्टअप उद्यममध्ये वस्तु तथा सेवामा ५४, उत्पादन प्रक्रियामा ४१ र वितरण प्रक्रियामा पाँच प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।
