पाँचतारे वाटर तथा इको–रिसोर्ट सञ्चालनमा आउने
काठमाडौं | रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा सन् २०१८ देखि सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले अन्तर्राष्ट्रिय होटल चेन म्यारियट इन्टरनेशनलसँग सहकार्य गर्दै रूपान्तरणको घोषणा गरेको छ। लगातार तीन वर्ष नाफामा सञ्चालन भएपछि रिसोर्टले म्यारियट इन्टरनेशनलसँग औपचारिक होटल व्यवस्थापन सम्झौता (एचएमए) गर्दै अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डअन्तर्गत सञ्चालन हुने भएको हो।
यो सहकार्य काठमाडौँ उपत्यकाबाहिर म्यारियट इन्टरनेशनलको नेपालमै पहिलो हुनेछ। सम्झौतामा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशन कुमार न्यौपाने सहभागी थिए। म्यारियट इन्टरनेशनल (ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ एस.ए.आर.एल.) का तर्फबाट एशिया–प्यासिफिक क्षेत्रका प्रमुख सञ्चालन अधिकृत निरज गोविल, दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष (विकास) किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोयको उपस्थिति रहेको थियो। रिसोर्टले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे सञ्चालन अनुमति प्राप्त गर्ने लक्ष्य लिएको छ।
नेपालकै पहिलो वाटर रिसोर्ट
लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा नेपालकै पहिलो र एकमात्र वाटर रिसोर्ट का रूपमा विकास गरिँदैछ। रिसोर्टमा अत्याधुनिक तथा भविष्य–उन्मुख सुविधाहरू रहनेछन्, जसमा:
-
संगीतसहित सञ्चालन हुने अत्याधुनिक फोहरा तथा थ्री–डी वाटर स्क्रिन
-
मोटर बोटिङ र मिनी क्रुज सेवा
-
विशेष वाटर रेस्टुरेन्ट तथा वाटर स्पा
हरित, इको र वेलनेस अवधारणामा आधारित
जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै रिसोर्टलाई ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्ट का रूपमा विकास गरिँदैछ। परियोजनाले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण रूपमा पालना गर्ने जनाएको छ।
साथै, रिसोर्टलाई बहु–विशेषता (मल्टी–स्पेसियल्टी) रिसोर्ट का रूपमा विकास गर्दै नेपालमा प्रचलित प्रमुख खेलकुदका लागि विश्वस्तरीय पूर्वाधार निर्माण गरिनेछ, जसले लुम्बिनी क्षेत्रलाई खेल पर्यटन (स्पोर्ट्स टुरिज्म) को केन्द्रका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।
पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट
यो रिसोर्ट नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ। यहाँ प्राकृतिक उपचार (न्याचुरोथेरापी) र दिगो मानव स्वास्थ्य प्रवर्द्धनमा आधारित, अर्गानिक प्रमाणीकरण प्राप्त अभ्यासहरू लागू गरिनेछन्।
