नेतृत्व विवादले चिरियो कांग्रेस, रुपान्तरणको बहस विभाजनमा टुंगियो
काठमाडौं । दशकौँदेखि नेपाली राजनीतिमा केन्द्रमा रहेको नेपाली कांग्रेस अन्ततः आन्तरिक संघर्षकै कारण विभाजनको मोडमा पुगेको छ । नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै आएको असन्तुष्ट समूह र वर्तमान संस्थापन पक्षबीचको टकराव अब औपचारिक विभाजनमा परिणत भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले महामन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेसँगै विवादले निर्णायक रूप लियो । अनुशासन उल्लंघनको आरोप लगाउँदै गरिएको यो कारबाहीलाई असन्तुष्ट पक्षले दमनको राजनीति भन्दै अस्वीकार गरेको छ ।
यससँगै देउवा नेतृत्वप्रति असहमति जनाउँदै आएको पक्षले बोलाएको विशेष महाधिवेशनले नयाँ राजनीतिक बाटो तय गरेको दाबी गरेको छ । विशेष महाधिवेशन प्रक्रियाबाट सभापतिमा गगन थापालाई चयन गर्ने तयारी अघि बढाइएको छ । यसले कांग्रेसभित्र समानान्तर संरचना निर्माणको संकेत दिएको छ ।
पछिल्ला वर्षहरूमा कांग्रेसभित्र ‘पुरानो नेतृत्व बनाम नयाँ पुस्ता’ को बहस तीव्र हुँदै आएको थियो । चुनावी पराजय, संगठन कमजोर हुँदै जानु र निर्णय प्रक्रियामा सीमित व्यक्तिको वर्चस्व रहेको आरोपसँगै नेतृत्व परिवर्तनको आवाज चर्किंदै गएको थियो । विशेषतः देउवाको नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने निष्कर्षसहित विशेष महाधिवेशनको माग उठाइएको थियो ।
तर संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेपछि विशेष महाधिवेशन असम्भव हुने अडान लिँदै आएको थियो । केन्द्रीय कार्यसमितिले वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो । यसैलाई आधार मानेर देउवा पक्षले असन्तुष्ट समूहका गतिविधिलाई विधानविपरीत ठहर्यायो ।
यद्यपि, विशेष महाधिवेशन पक्षधरहरू भने पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग आए विशेष महाधिवेशन अनिवार्य हुने दाबी गर्दै आएका थिए । पुस २८ भित्र महाधिवेशन बोलाउन माग गर्दै बुझाइएको निवेदनको समयसीमा सकिन लागेपछि उनीहरू निर्णायक कदम चाल्न तयार भएका थिए ।
विवाद उत्कर्षमा पुग्दा पनि पार्टी फुट्न नदिन वार्ताका प्रयास भएका थिए । दुवै पक्षले वार्ता टोली गठन गरी संवादको प्रयास गरे । तर नेतृत्व हस्तान्तरण, महाधिवेशनको वैधता र कारबाही फिर्ताका विषयमा सहमति जुट्न सकेन ।
कारबाहीको घोषणापछि गगन थापाले कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभएको टिप्पणी गर्दै आफूहरूले इतिहास बोकेको पार्टी जोगाउन संघर्ष गरिरहेको बताएका छन् । उनका समर्थकहरूले यो विभाजनलाई कांग्रेसभित्रको पुस्तान्तरणको निर्णायक मोडका रूपमा व्याख्या गरिरहेका छन् ।
अब कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित हुँदा यसको असर राष्ट्रिय राजनीति, सत्ता समीकरण र आगामी निर्वाचनमा गहिरो पर्ने देखिएको छ ।
