विषादी र विकासको चापले सिमसार संकटमा, जलपन्छीको संख्या घट्दै
नेपालगन्ज — बाँके जिल्लाका तालतलैया, सिमसार र नदी आसपासका क्षेत्र जलपन्छीका लागि क्रमशः असुरक्षित बन्दै गएका छन्। हालै सम्पन्न दुईदिने जलपन्छी गणनाले पानीमा आश्रित चराहरूको बासस्थान गम्भीर जोखिममा परेको संकेत गरेको छ।
नेपाल पन्छी संरक्षण सङ्घका अनुसार कृषि क्षेत्रमा जथाभावी विषादी प्रयोग, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण र जलाशयको प्राकृतिक स्वरूपमा आएको परिवर्तनले जलपन्छीको आवास क्षेत्रमा प्रत्यक्ष असर पारेको छ। परियोजना अधिकृत भुपाल नेपालीले बाँकेको राप्ती नदी तटीय क्षेत्र, कुसुम, अगैया, सिधनियाघाट तथा विभिन्न तालतलैया र जलाशयमा गरिएको गणनामा अघिल्ला वर्षको तुलनामा चराको उपस्थिति घटेको बताए।
नेपालगन्जको कान्तितालमा यो प्रभाव स्पष्ट देखिएको छ। विगतमा ५५ प्रजातिसम्म जलपन्छी पाइने यस तालमा यस वर्ष करिब ४० प्रजाति मात्रै देखिएको प्रारम्भिक तथ्याङ्क छ। जिल्लाभर करिब ५० प्रजातिका जलपन्छी रहेको अनुमान गरिएको छ, जसमा चखेवा र सिलसिले हाँसको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।
हरेक वर्ष जनवरीको पहिलो साताबाट नेपालमा जलपन्छी गणना गरिँदै आएको छ। यस वर्ष पुस १९ गतेदेखि सुरु भएको गणना माघ ४ गतेसम्म विभिन्न जिल्लामा जारी रहनेछ। जाडो याममा उत्तरी ध्रुव तथा आसपासका क्षेत्रमा हिउँ परेपछि आहारको खोजीमा बसाइँसराइ गर्ने आगन्तुक चरा दक्षिण एसियाली उडान मार्ग हुँदै नेपाल आउने गर्छन्। नेपाल यही मार्गमा पर्ने भएकाले हाँस जातिका चराको आगमन बढी हुने गर्दछ।
परियोजनाका अर्का अधिकृत अमृत नेपालीले सिमसार क्षेत्र सुरक्षित नगरे जलपन्छी मात्र होइन, समग्र जैविक प्रणाली नै प्रभावित हुने चेतावनी दिए। जलपन्छी गणनाबाट प्राप्त तथ्याङ्क सरकारलाई बुझाइने र संरक्षणसम्बन्धी नीति तथा कार्ययोजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल देशभर ८० भन्दा बढी सिमसार तथा जलीय क्षेत्रमा जलपन्छी गणना भइरहेको छ। यससँगै समुदायस्तरमा सचेतना फैलाउने, संरक्षणमा स्थानीय सहभागिता बढाउने र राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा चरा संरक्षणको महत्व उजागर गर्ने काम पनि अघि बढाइएको परियोजनाले जनाएको छ।
