तीन महिनापछि उज्यालो फर्कियो मनास्लुको सामागाउँमा
गोरखा । उत्तरी गोरखाको हिमाली बस्ती सामागाउँ र साम्दोमा तीन महिनादेखि अँध्यारो छाएको थियो। तर ल्होसारको पूर्वसन्ध्यामा भने गाउँलेले पुनः बत्ती बाल्न पाएपछि पूरा बस्ती नै झिलिमिली बनेको छ। सामागाउँ लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएसँगै विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको हो।
आयोजनाका अध्यक्ष वीरबहादुर लामाका अनुसार प्राविधिक समस्या देखिएपछि बन्द भएको विद्युत् उत्पादन मर्मतपछि पुनः सुचारु गरिएको हो। दुर्गम भूगोल, कडा हिमपात र यातायातको अभावका कारण काममा ढिलाइ भएको उनले बताए। आवश्यक उपकरण भारतबाट मगाउनुपरेको र ढुवानी प्रक्रियामै लामो समय लागेको उनको भनाइ छ।
हिमालपारिको बस्तीका रूपमा चिनिने साम्दो र सामागाउँमा अझैसम्म सडक सञ्जाल पुगेको छैन। त्यसैले उपकरण हेलिकप्टरमार्फत ढुवानी गरी मर्मत गरिएको थियो। दुर्गमता र मौसमका कारण प्राविधिक टोलीलाई समेत चुनौतीपूर्ण अवस्था सामना गर्नुपरेको स्थानीयले बताएका छन्।
ल्होसार पर्वका अवसरमा बत्ती बाल्न पाउँदा गाउँमा उत्साह छाएको छ। वडा अध्यक्ष कर्मा छेवाङका अनुसार लामो समयको अँध्यारोपछि उज्यालो फर्किनु गाउँलेका लागि ठूलो राहत हो। “पर्वको बेला उज्यालोले बेग्लै रौनक थपेको छ,” उनले भने।
चुमनुब्री गाउँपालिका–१ अन्तर्गत पर्ने यी बस्तीमा करिब ३०० घरधुरी बसोबास गर्छन्। पाँच वर्षअघि कादुरी नामक संस्थाको सहयोगमा १०० किलोवाट क्षमताको सामागाउँ जलविद्युत् आयोजना निर्माण गरिएको थियो। सोही आयोजनाबाट स्थानीय बासिन्दाले घरायसी प्रयोगका लागि विद्युत् उपभोग गर्दै आएका छन्।
दुर्गम हिमाली भेगमा साना जलविद्युत् आयोजना नै दैनिकीको आधार बनेका छन्। विद्युत् अवरुद्ध हुँदा सञ्चार, शिक्षादेखि दैनिक जीवनसम्म प्रभावित हुने गरेको छ। पछिल्लो मर्मतसँगै सामागाउँ र साम्दोमा पुनः सामान्य जीवनयापन सहज बनेको स्थानीयले बताएका छन्।
