काठमाडौं— सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको तयारी, मतदान तथा मतगणना व्यवस्थापनलाई सहज बनाउन लगातार तीन दिन बिदा स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्रीले बैठकपछि दिएको जानकारीअनुसार २०, २१ र २२ फागुनमा देशभर सार्वजनिक बिदा रहनेछ। यसअघि निर्वाचन आयोग ले पनि मतदानको प्रभावकारी व्यवस्थापन र मतदाताको सहभागिता सुनिश्चित गर्न सोही मितिमा बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २१ फागुनमा मतदान हुँदैछ। मतदानको अघिल्लो दिन तयारी र मतदानपछिको दिन मतपेटिका व्यवस्थापन तथा प्रारम्भिक गणनाका कामलाई सहज बनाउन बिदा तय गरिएको जनाइएको छ।
यसपालि फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ। त्यसलगत्तै २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवससमेत परेकाले निर्वाचन अवधिमा करिब एक सातासम्म सार्वजनिक बिदाको अवस्था सिर्जना हुने देखिएको छ।
सरकारले बिदा अवधिमा अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालनमा रहने स्पष्ट पारेको छ।