लागू भयो निर्वाचनको मौन अवधि, अब के–केमा प्रतिबन्ध?
| काठमाडौं । आगामी बिहीबार (२१ फागुन) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ४८ घण्टे मौन अवधि औपचारिक रूपमा सुरु भएको छ। मंगलबार मध्यरातबाटै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार पूर्ण रूपमा रोकिएको छ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारका लागि समय दिएको थियो। अब मतदान सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचार–प्रसार वा मत प्रभावित पार्ने गतिविधि गर्न पाइने छैन।
मौन अवधिमा के गर्न पाइँदैन?
-
चुनावी सभा, भाषण, भेला, छलफल वा समीक्षा आयोजना गर्न
-
मत माग्ने उद्देश्यले घरदैलो वा सार्वजनिक गतिविधि सञ्चालन गर्न
-
फेसबुक, एसएमएस, भाइबरलगायत सामाजिक सञ्जालमार्फत प्रचार गर्न
-
उम्मेदवार वा दलको पक्षमा समाचार, विज्ञापन वा सूचना प्रकाशन/प्रसारण गर्न
-
मतदान केन्द्रको ३०० मिटर वरिपरि चुनाव चिन्ह वा प्रचार सामग्री राख्न
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक चलखेल गरेको पाइए उम्मेदवारी खारेज हुनुका साथै छ वर्षसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने कारबाही हुन सक्छ।
किन महत्त्वपूर्ण छ मौन अवधि?
मौन अवधिको उद्देश्य मतदातालाई दबाब, तनाव र आश्वासनबाट टाढा राखी शान्त वातावरणमा निर्णय गर्न अवसर दिनु हो। प्रचारको भीडभाडपछि मतदाताले उम्मेदवारका एजेन्डा र कार्ययोजनाको शान्तपूर्वक समीक्षा गरी ‘योग्य र रोजेको’ प्रतिनिधि चयन गर्न सकून् भन्ने अवधारणा यससँग जोडिएको छ।
निर्वाचन व्यवस्थापनका दृष्टिले पनि यो समय महत्वपूर्ण मानिन्छ। मतदान केन्द्र तयारी, सुरक्षाको मूल्याङ्कन, जनशक्ति परिचालन र आवश्यक बन्दोबस्त मिलाउने काम यही अवधिमा तीव्र रूपमा गरिन्छ। विश्वका विभिन्न देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि राख्ने अभ्यास छ।
शून्य सहनशीलता
निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधिमा आयोगले शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारेको छ। उम्मेदवार, दल तथा सम्बन्धित पक्षले विशेष आचरण पालना गर्नुपर्ने र कानुनी प्रावधान उल्लंघन गरे कडा कारबाही हुने चेतावनी दिइएको छ।
यसरी मौन अवधि सुरु भएसँगै अब मतदाताले प्रचारको कोलाहलभन्दा टाढा रही विवेकपूर्ण निर्णय गर्ने समय पाएका छन्। मतदान सम्पन्न नभएसम्म सबै पक्षले संयम र कानुनी मर्यादा पालना गर्नुपर्नेछ।
