निर्वाचनपूर्व वातावरण सौहार्दपूर्ण, मतदातामा उत्साह देखियो
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा मतदानप्रति मतदाताको उल्लेखनीय उत्साह देखिएको जनाएको छ।
संस्थाले स्थलगत अनुगमन तथा कल सेन्टरमा प्राप्त सूचनाको विश्लेषणका आधारमा निर्वाचनपूर्वको समग्र अवस्था शान्त, व्यवस्थित र व्यवस्थापकीय रूपमा सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो।
जियोकले मतदानको तयारी, राजनीतिक दलहरूको सक्रियता, आपसी समन्वय, सम्भावित चुनौती, निर्वाचन आयोगको तयारी तथा सुरक्षा व्यवस्थाको अवस्थाबारे विस्तृत अध्ययन गरेको जनाएको छ। विभिन्न जिल्लामा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको अन्तर्क्रियाबाट तथ्य संकलन गरिएको महासचिव कृष्णमान प्रधानले जानकारी दिए।
प्रतिवेदनमा समग्र मूल्याङ्कन गर्दै भनिएको छ, “हालसम्मको अवलोकनले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको देखिन्छ।”
राष्ट्रिय पर्यवेक्षकका रूपमा खटिएका प्राध्यापक चिरञ्जीवी खनालका अनुसार मतदान केन्द्र निर्माण, आवश्यक सामग्री ढुवानी तथा कर्मचारी परिचालन तीव्र गतिमा अघि बढिरहेको छ। सुरक्षा निकाय पनि संवेदनशीलतापूर्वक जिम्मेवारी सम्हाल्दै तैनाथ रहेको पाइएको उनले बताए।
उनका अनुसार अघिल्ला निर्वाचनमा जस्तै ठूला आमसभा र जुलुसभन्दा यसपटक राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्, जसले निर्वाचनप्रति जनचासो बढाएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले पनि समग्र वातावरण शान्त रहेको र सुरक्षा संयन्त्र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त देखिएको उल्लेख गरे।
अर्का पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा राखिएकाले मतदातामैत्री वातावरण बनेको बताएका छन्।
जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा करिब ४०० पर्यवेक्षक परिचालन गरी निर्वाचनपूर्वको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ। प्रतिवेदनअनुसार जिल्लास्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ भने प्रशासनिक तथा सुरक्षात्मक तयारी सन्तोषजनक रहेको उल्लेख गरिएको छ।
देशभर मतदान सामग्री र कर्मचारी परिचालन योजनाअनुसार सम्पन्न भइरहेको तथा उम्मेदवारहरूको घरदैलो अभियानसमेत शान्तिपूर्ण रूपमा चलिरहेको प्रतिवेदनमा जनाइएको छ।
