काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा गन्तव्य मुलुकसम्म पुर्याउन नेपाल सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ।
सरकारका अनुसार नेपाल वायुसेवा निगमले ३ अप्रिलदेखि ५ अप्रिलसम्म काठमाडौं–दुबई, दुबई–काठमाडौं, काठमाडौं–दमाम तथा दमाम–काठमाडौं रुटमा विशेष उडान सञ्चालन गर्नेछ। द्वन्द्वका कारण नियमित उडान रोकिँदा स्वदेश फर्किन वा गन्तव्य मुलुक जान नसकेका नेपालीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो।
यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेर पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा र आवागमन सहज बनाउने विषयमा छलफल गरिएको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण फेब्रुअरी २८ देखि नियमित हवाई सेवा प्रभावित भएको थियो।
विशेष उडान सञ्चालनका क्रममा आवश्यक बीमा व्यवस्था मिलाउन राष्ट्रिय बीमा कम्पनीले सहकार्य गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै उद्धार उडान सफल बनाउन सहयोग गर्ने सरोकारवाला निकायप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ।