‘सगरमाथा क्षेत्रमा विष खुवाएर पर्यटक बिरामी बनाइने हल्ला असत्य’
टुरिजमफेस
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रसँग जोडिएको पर्यटन गतिविधिबारे हालै केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाइडहरूले नियतवश पर्यटकलाई खानामा विषालु पदार्थ मिसाएर बिरामी बनाउने गरेको भन्ने दाबीलाई सीआईबीले पूर्णतः भ्रामक र आधारहीन ठहर गर्दै औपचारिक खण्डन गरेको हो ।
हाल सगरमाथा क्षेत्रमा देखिएको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) प्रकरणको अनुसन्धान चलिरहेको सन्दर्भमा केही सञ्चार माध्यमले गाइडहरूलाई नै दोषी देखाउने गरी समाचार सम्प्रेषण गरेपछि पर्यटन क्षेत्रको छविमा नकारात्मक असर पर्न थालेको छ । यही पृष्ठभूमिमा सीआईबीले विज्ञप्ति जारी गर्दै तथ्यहीन सूचनाले नेपालजस्तो पर्यटनमा निर्भर मुलुकलाई दीर्घकालीन क्षति पुग्न सक्ने चेतावनी दिएको हो ।
सीआईबीका अनुसार हालसम्मको अनुसन्धानमा पर्यटकलाई जानाजानी विषालु पदार्थ खुवाएर बिरामी बनाइएको कुनै प्रमाण भेटिएको छैन । नक्कली उद्धार गरेर बीमा रकम ठगी गर्ने गिरोहमाथि अनुसन्धान केन्द्रित रहे पनि गाइडहरूले खानामा विष मिसाएर पर्यटकको स्वास्थ्यमा खेलबाड गरेको भन्ने आरोप पुष्टि हुने आधार नदेखिएको प्रहरीको निष्कर्ष छ ।
प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अप्रमाणित समाचारले नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर बनाउने र सगरमाथा क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाउने उल्लेख गरिएको छ । पर्यटन उद्योगमा आबद्ध गाइड, आरोही व्यवस्थापक, होटल व्यवसायी तथा स्थानीय समुदायको जीविकोपार्जनमा समेत यस्ता हल्लाले प्रत्यक्ष असर पार्ने सीआईबीले जनाएको छ ।
सीआईबीले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमलाई आधिकारिक पुष्टि बिना संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ । जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सूचना प्रवाहले मात्र नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहन सक्ने प्रहरीको धारणा छ ।
सगरमाथा क्षेत्र नेपालका लागि केवल प्राकृतिक सम्पदा मात्र नभई आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले यस्ता अपुष्ट समाचारले अन्तर्राष्ट्रिय पर्यटकको विश्वास घटाउने जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यको प्रमाणिकता, आधिकारिक स्रोत र सन्तुलित प्रस्तुतीकरणमा विशेष ध्यान दिन सीआईबीले पुनः आग्रह गरेको छ ।
