धौलागिरि र अन्नपूर्ण आरोहणका लागि ४४ जनालाई अनुमति, वसन्त याममा चहलपहल बढ्दै
म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार म्याग्दी जिल्लामा अवस्थित ८,१६७ मिटर अग्लो धौलागिरि र ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल चढ्न विभिन्न अन्तर्राष्ट्रिय टोलीहरूले अनुमति प्राप्त गरेका हुन्।
विभागको तथ्यांकअनुसार धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट आठ महिलासहित १७ जना आरोहीले अनुमति लिएका छन् भने अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन्। वसन्त याम सुरु भएसँगै हिमाल आरोहण गतिविधि क्रमशः बढ्दै गएको देखिएको छ।
धौलागिरि हिमाल आरोहणबाट ७५ लाख ६४ हजार ६५० रुपैयाँ र अन्नपूर्ण हिमालबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागकी शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिइन्। उनका अनुसार यस वसन्त याममा अन्नपूर्ण र धौलागिरिसहित हालसम्म १२ वटा हिमाल आरोहणका लागि २४ समूहका १७० जना आरोहीले अनुमति लिएका छन्, जसबाट कुल १० करोड ८७ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
पर्यटन विभागका अनुसार दैनिकजसो नयाँ आरोही टोलीले अनुमति लिने क्रम जारी रहेकाले आगामी दिनमा संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण र धौलागिरि हिमालका आधार शिविरमा टोलीहरू पुगेर आवश्यक तयारी र अनुकूल मौसमको प्रतीक्षा गरिरहेका छन्।
गत शरदयाममा धौलागिरि आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण हिमाल चढ्न भने कुनै पनि टोलीले अनुमति लिएको थिएन। यस्तै, गत वर्षको वसन्त याममा धौलागिरि आरोहणका लागि १५ जना र अन्नपूर्णका लागि ६६ जनाले अनुमति लिएका थिए।
पर्यटन व्यवसायीहरूका अनुसार वसन्त याम हिमाल आरोहणका लागि उपयुक्त समय भएकाले यस वर्ष पनि विदेशी आरोहीको आकर्षण बढ्ने अपेक्षा गरिएको छ, जसले हिमाली पर्यटन र स्थानीय अर्थतन्त्रलाई सकारात्मक टेवा पुर्याउने विश्वास गरिएको छ।
