कञ्चनपुर–कमला सडक ५ वर्षसम्म अधुरो, धुलोले बजार र पर्यटकीय क्षेत्र प्रभावित
सप्तरी । सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्म विस्तार भइरहेको सडक निर्माणमा भएको ढिलासुस्तीले स्थानीय जनजीवन मात्र होइन, पर्यटन र व्यापारिक गतिविधिमा समेत असर पार्न थालेको छ। तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने ८६.८३ किलोमिटर सडक पाँच वर्ष बितिसक्दा पनि अधुरै रहँदा सडक छेउका बजार, होटल व्यवसाय र आवागमन प्रभावित बनेका छन्।
निर्माणाधीन चार लेन सडक समयमै पूरा नहुँदा हिउँदमा अत्यधिक धुलो र बर्खामा हिलोले यात्रु तथा पर्यटकलाई सास्ती दिइरहेको छ। पूर्व–पश्चिम आवागमनको महत्वपूर्ण मार्ग भएकाले यहाँ दैनिक रूपमा आन्तरिक पर्यटक, व्यापारी तथा यात्रु आवतजावत गर्छन्। तर सडकको खराब अवस्थाका कारण होटल, रेष्टुरेन्ट र साना व्यवसायमा ग्राहकको चहलपहल घट्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
रूपनीका स्थानीय श्याम यादवका अनुसार धुलोका कारण स्वास्थ्य समस्या बढेको छ भने बाहिरबाट आउने पाहुनासमेत असहज महसुस गर्छन्। “यात्रु र पर्यटक यहाँ रोकिन चाहँदैनन्, धुलो र अव्यवस्थित सडकले बजार सुनसान बन्दै गएको छ,” उनले भने।
स्थानीय व्यवसायी रिझन यादवले सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटन र व्यापार दुबै क्षेत्र प्रभावित भएको बताए। उनका अनुसार राम्रो सडक बनेमा पूर्वी तराईका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा आउने पर्यटकको संख्या बढ्ने थियो, तर निर्माण सुस्त हुँदा सम्भावना उपयोग हुन सकेको छैन।
यो सडक विस्तारको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो। सन् २०२३ अक्टोबरभित्र काम सक्ने लक्ष्य भए पनि हालसम्म तीन पटक म्याद थप गरिएको छ। अब निर्माण अवधि सन् २०२६ जुनसम्म पुर्याइएको छ। आयोजनाको लागत बढेर करिब १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जसमा एसियाली विकास बैंकको ऋण र नेपाल सरकारको लगानी रहेको छ।
आयोजना कार्यालयका अनुसार पश्चिमी खण्डमा करिब ७० प्रतिशत र पूर्वी खण्डमा करिब ६७ प्रतिशत भौतिक प्रगति भएको छ। तर निर्माण कम्पनीले मुख्य काममा गति नदिई सामान्य काम मात्र गरिरहेको भन्दै कार्यालयले ताकेता गरिरहेको जनाएको छ।
सडक विस्तार ढिलो हुँदा रूपनी, कठौना, कल्याणपुर, मिर्चैया, गोलबजार लगायतका बजार क्षेत्र धुलाम्य बनेका छन्। अधुरा पुल, साँघुरा डाइभर्सन र अव्यवस्थित सडकले दुर्घटनाको जोखिम बढाएको छ भने पर्यटक र यात्रुका लागि यो मार्ग असहज बनेको छ।
स्थानीय सरोकारवालाहरूले यो सडक समयमै निर्माण सम्पन्न भए पूर्वी तराईका धार्मिक स्थल, होटल व्यवसाय र आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्ने बताउँदै सरकार र निर्माण कम्पनीलाई काममा तीव्रता दिन आग्रह गरेका छन्।
