पर्यटन क्षेत्रका लागि २०८२ः अवसर र अवरोधबीचको वर्ष
टुरिजमफेस
काठमाडौं । वर्ष २०८२ नेपालको पर्यटन क्षेत्रका लागि पूर्ण रूपमा सकारात्मक वा पूर्ण रूपमा नकारात्मक रहेन । बरु उतारचढावले भरिएको मिश्रित वर्षका रूपमा दर्ज भएको छ । एकातिर केही उत्साहजनक संकेतहरू देखिए भने अर्कोतर्फ अप्रत्याशित घटनाहरूले पर्यटन उद्योगलाई दबाबमा राखिरहे ।
वर्षको सुरुवातसँगै पर्यटक आगमनमा सुधारको संकेत देखिए पनि आन्तरिक राजनीतिक अस्थिरता, सामाजिक आन्दोलन र अन्तर्राष्ट्रिय परिस्थितिका कारण पर्यटन क्षेत्रले अपेक्षित गति समात्न सकेन । विशेषगरी भदौ महिनामा भएको ‘जेन–जी आन्दोलन’ ले देशको समग्र संरचनामै धक्का पु¥यायो। सिंहदरबारदेखि लिएर विभिन्न महत्वपूर्ण संरचनामा भएको क्षतिले नेपालबारे अन्तर्राष्ट्रिय सन्देश नकारात्मक रूपमा प्रवाह भयो, जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखियो ।
आन्दोलनकै कारण पर्यटन सिजनको सुरुवातमै पर्यटक आगमनमा गिरावट आयो । होटल उद्योगमा ठूलो क्षति पुग्यो भने हजारौं श्रमिकको रोजगारीमा असर प¥यो । केही अन्तर्राष्ट्रिय स्तरका होटलहरू सञ्चालनमै अवरोध आएको अवस्था समेत सिर्जना भयो । यसले नेपाललाई सुरक्षित र भरपर्दो गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रयासलाई चुनौती दियो ।
त्यसको केही समयपछि पर्यटन क्षेत्र पुनः लयमा फर्कने संकेत देखिँदै थियो, तर मध्यपूर्वमा चर्किएको द्वन्द्वले पुनः नयाँ संकट निम्त्यायो । अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा पर्यटकको आवागमनमा प्रत्यक्ष असर प¥यो। उडान रद्द, टिकट महँगो र इन्धनको मूल्यवृद्धिले यात्राको लागत बढायो, जसले नेपाल भ्रमण गर्ने योजना बनाएका पर्यटकहरूलाई निरुत्साहित ग¥यो ।
यस वर्षको अर्को महत्वपूर्ण पाटो भनेको पर्यटन क्षेत्रमा देखिएको विकृति नियन्त्रणतर्फको प्रयास हो । विशेषगरी ‘फेक रेस्क्यु’ जस्ता अनियमित गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान अगाडि बढाइनु सकारात्मक संकेतका रूपमा लिइएको छ । यसले दीर्घकालमा नेपालको साहसिक पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
चुनौतीका बाबजुद पनि २०८२ मा केही सकारात्मक विकासहरू पनि भएका छन् । अन्तर्राष्ट्रिय ब्राण्डका नयाँ होटलहरूको प्रवेशले नेपालप्रति लगानीकर्ताको विश्वास कायम रहेको देखाउँछ । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज जस्ता प्रमुख गन्तव्यमा नयाँ तारे होटलहरू सञ्चालनमा आउनु र निर्माणाधीन रहनुले पर्यटन पूर्वाधार विस्तारको संकेत दिएको छ ।
सरकारले पनि केही नीतिगत सुधारमार्फत पर्यटन क्षेत्रलाई सहज बनाउन खोजेको देखिन्छ । विदेशी पर्यटकलाई बढी विदेशी मुद्रा ल्याउन अनुमति दिनु, होटल उद्योगलाई उत्पादनमूलक क्षेत्रसरह सुविधा दिने निर्णय र ट्रेकिङ अनुमति शुल्कमा संशोधनजस्ता कदमहरूलाई सकारात्मक रूपमा हेरिएको छ । यस्ता नीतिले दीर्घकालमा पर्यटन व्यवसायलाई राहत पु¥याउने अपेक्षा गरिएको छ ।
यद्यपि हवाई कनेक्टिभिटी विस्तार, पूर्वाधार विकास र नीतिको प्रभावकारी कार्यान्वयनजस्ता क्षेत्रमा भने अझै कमजोरी देखिएको व्यवसायीहरूको गुनासो छ। नीति घोषणा भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष लाभ उद्योगले लिन नसकेको उनीहरूको भनाइ छ ।
वर्ष २०८२ मा केही हवाई दुर्घटनाहरू पनि भए, तर सुखद पक्ष के रह्यो भने ती घटनामा ठूलो मानवीय क्षति भएन । यसले हवाई सुरक्षामा थप सुधार आवश्यक रहेको संकेत भने दिएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार यो वर्ष अपेक्षाअनुसार सफल हुन नसके पनि पूर्ण रूपमा निराशाजनक पनि रहेन । भारतीय पर्यटकको आगमन केही बढेको देखिए पनि नेपालका होटल तथा पर्यटन उद्योग मुख्यतः तेस्रो मुलुकका पर्यटकमा निर्भर हुने भएकाले त्यसले पर्याप्त राहत दिन सकेन ।
समग्रमा हेर्दा, २०८२ पर्यटन क्षेत्रका लागि परीक्षा जस्तै वर्ष रह्यो—जहाँ अवसर र चुनौती दुवै समान रूपमा उपस्थित भए । अबको आवश्यकता भनेको स्थायित्व, विश्वास निर्माण र पूर्वाधार विकासमा केन्द्रित दीर्घकालीन रणनीति हो । यदि ती पक्षमा सुधार गर्न सकियो भने आगामी वर्षहरूमा नेपालको पर्यटन क्षेत्रले पुनः उचाइ समात्ने आधार तयार हुन सक्छ ।
