७ करोड ७८ लाख बिगो दाबी गर्दै पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गर्दै उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गरेको हो।
अख्तियारका अनुसार भेपभित्र सुन लुकाएर नेपाल भित्र्याउने योजनामा संलग्न समूहले भन्सार जाँच प्रक्रियामा कमजोरी र पदीय दुरुपयोगको लाभ उठाउँदै राज्यलाई ठूलो नोक्सानी पुर्याएको देखिएको छ। यस प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेलसहित विभिन्न भन्सार अधिकृतहरूलाई पनि प्रतिवादी बनाइएको छ।
प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, रमेशकुमार खतिवडा, सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी लगायत कर्मचारीले पदीय जिम्मेवारी पूरा नगरेको र जफत गरिएको सामग्री सुरक्षित राख्ने प्रक्रियामा लापरबाही गरेको आरोप अख्तियारले लगाएको छ। एक्स–रे मेसिनबाट सुन भएको संकेत देखिँदासमेत भौतिक परीक्षण नगरी जफत गरिएको सामग्री सुरक्षित राख्ने बहानामा कार्यालयमै राखिएको र त्यसक्रममा संलग्न व्यक्तिसँग अस्वाभाविक सम्पर्क भएको आरोपपत्रमा उल्लेख छ।
महरासँगै उनका छोरा राहुल महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, बेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दाओजिङ वाङ, बेल्जियन नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग लगायतलाई पनि प्रतिवादी बनाइएको छ। डेक्स्टर ट्राभल्स एन्ड टुर प्रालिविरुद्ध समेत मुद्दा दायर गरिएको छ।
यसअघि पनि महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। पछि उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
२०७९ पुस १० गते फ्लाई दुबईमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको भेपमा ९ किलो सुन भेटिएपछि यो प्रकरण सार्वजनिक भएको थियो। विमानस्थल भन्सारबाटै सुन हराएपछि अनुसन्धान सुरु भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको प्रारम्भिक अनुसन्धानमा महराको सम्बन्ध मुख्य योजनाकार दाओजिन वाङसँग देखिएको थियो। सुरुमा मुद्दा नचलाइए पनि पछि बनेको सुन तस्करी जाँचबुझ आयोगले महरालाई समेत कारबाहीको दायरामा ल्याउन सुझाव दिएको थियो।
सिआइबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरी बयान लिएपछि हाजिर जमानीमा छाडेको थियो भने अहिले अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि प्रकरणले नयाँ मोड लिएको छ।
