सर्वोच्चको आदेशपछि ओली र लेखक हाजिर जमानतमा रिहा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा रिहा गर्ने प्रक्रिया अघि बढाएको छ। सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिल कार्यालयबाट आएको पत्रका आधारमा दुवै जनालाई जिम्मा लगाएर छाड्ने निर्णय गरिएको हो।
काठमाडौं प्रहरीका अनुसार अदालतको निर्देशन प्राप्त भएसँगै आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ र निर्धारित म्याद सकिएपछि उनीहरूलाई हिरासतबाट मुक्त गरिनेछ। ओली र लेखकका परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थप म्याद समाप्त भएपछि हिरासतमा नराख्न आदेश दिएको थियो।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राख्ने कार्यलाई पूर्ण रूपमा गैरकानुनी नभने पनि म्यादभित्र अनुसन्धान टुंग्याएर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको थियो। यदि अनुसन्धान पूरा हुन नसकेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार हाजिर जमानतमा छाडेर थप अनुसन्धान गर्न आदेश गरिएको थियो।
अदालतले अनुसन्धानका अधिकांश प्रक्रिया पूरा भइसकेको र बयान संकलन समेत सकिएको उल्लेख गर्दै अनावश्यक रूपमा हिरासतमा राख्नु उपयुक्त नहुने ठहर गरेको थियो। साथै, अन्य आरोपितलाई पनि खोजी भएको बेला उपस्थित हुने सर्तमा छाडिएको उदाहरण प्रस्तुत गरिएको छ।
भदौ २३ गतेको घटनासम्बन्धी छानबिनका क्रममा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि ओली र लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो। आयोगले उनीहरूलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण गतिविधिका कारण मानवीय क्षति भएको भन्दै फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाही र हेलचेक्र्याइँबाट ज्यान गएको आरोपमा अनुसन्धान भइरहेको छ। सम्बन्धित कानुनी व्यवस्थाअनुसार यस्तो कसुर प्रमाणित भए ३ देखि १० वर्षसम्म कैद र जरिवानासम्मको सजाय हुन सक्ने प्रावधान रहेको छ।
अब ओली र लेखक हाजिर जमानतमा रिहा भए पनि अनुसन्धान प्रक्रिया भने जारी रहने र आवश्यक परे उपस्थित हुनुपर्ने कानुनी व्यवस्था लागू हुने जनाइएको छ।
