मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस
काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने भएको हो । गाउँपालिकाले रारा, छायाँनाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको जानकारी गराएको छ ।
गाउँपालिकाका प्रतिनिधिहरूले रारा र छायाँनाथ धाम आसपासका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रम ल्याइएको जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने स्पष्ट पारे । उनले भने, “मुगु केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, यो नेपालको पर्यटन सम्भावनाको प्रतीक पनि हो । यसलाई दिगो र व्यवस्थित रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं ।”
यो रेस समुद्री सतहबाट २५५० मिटरबाट सुरु भई छायाँनाथ ४८२० मीको अल्टिच्युडसम्म करिब ३० किलोमिटरको रेस हुनेछ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ‘फन रन’को समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । ३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष) तर्फ प्रथम हुनेलाई दुई लाख रुपैयाँ, दोस्रोलाई एक लाख ५० हजार, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौंलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र
तृतीय हुने खेलाडीलाई क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
