पर्यटकीय मौसममै मुस्ताङमा हिमपात, मुक्तिनाथ पुग्ने पर्यटक रोमाञ्चित
मुस्ताङ । सामान्यतया वसन्त र प्रारम्भिक गर्मीयामलाई मुस्ताङ भ्रमणका लागि उत्कृष्ट समय मानिन्छ । तर यस वर्ष मौसमले फरक दृश्य देखाएको छ । बर्खा सुरु हुने समय नजिकिँदै गर्दा पनि मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमपात जारी छ ।
वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा परेको हिमपातले मुक्तिनाथ आसपासका डाँडाकाँडा फेरि सेताम्मे बनेका छन् । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार करिब एक घण्टाभन्दा बढी समय हिमपात भएको थियो, जसका कारण चिसो समेत बढेको छ ।
गर्मी सुरु भइसकेको समयमा परेको हिमपातले एकातिर मुक्तिनाथ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई फरक अनुभव दिलाएको छ भने अर्कोतर्फ यात्रा व्यवस्थापनमा केही चुनौती पनि थपिएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका भक्तजन र पर्यटकले अप्रत्याशित हिमपातसँगै हिमाली दृश्यको रमाइलो अनुभव गरेका छन् ।
यस वर्ष मात्रै मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको स्थानीयले बताएका छन् । जलवायु परिवर्तनका कारण मौसमको चक्र असामान्य बन्दै गएको स्थानीयवासीको भनाइ छ ।
वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार वसन्त ऋतुमा हरियाली फैलिने र पर्यटकको चहलपहल बढ्ने समयमा लगातारको हिमपातले स्थानीय जनजीवनसँगै पर्यटन गतिविधिमा समेत असर पार्न थालेको छ ।
मुस्ताङका खिङ्गा, झारकोट, लुप्रा, पुराङ र रानीपौवा लगायतका गाउँमा हिउँदयामको बिदाइ गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिए पनि मौसम अझै स्थिर हुन सकेको छैन । बेमौसमी हिमपातले स्याउका बगैंचामा असर पुग्ने चिन्ता स्थानीय कृषकमा बढेको छ ।
स्थानीय अगुवाहरूका अनुसार हिउँदयाममा पर्ने हिमपातले हिमाली सौन्दर्य बढाएर पर्यटनलाई आकर्षित गरे पनि यामभन्दा बाहिरको हिमपातले सडक, यातायात र पदयात्रामा असर पुर्याउन सक्छ ।
वैशाखमै परेको हिमपातले मुस्ताङमा पुगेका पर्यटकलाई अनौठो अनुभव दिएको छ । हिमाल, संस्कृति र धार्मिक पर्यटनका लागि प्रसिद्ध मुस्ताङ अहिले फेरि ‘सेतो मुस्ताङ’को दृश्यका कारण चर्चामा आएको छ ।
