पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअनियमिततामा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
टुरिजमफेस
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलगायत उच्च सरकारी अधिकारी तथा चिनियाँ निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ।
आयोगले विमानस्थल निर्माणका क्रममा गरिएको कार्यान्वयन सम्झौतामार्फत चिनियाँ निर्माण कम्पनीलाई अनुचित रूपमा कर छुट दिइएको र त्यसबाट राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुगेको निष्कर्ष निकालेको छ।
अख्तियारका अनुसार मूल खरिद सम्झौतामै कर, महसुल र अन्य शुल्क निर्माण लागतभित्र समावेश गरिएको थियो। त्यसअनुसार ती रकम ठेकेदार कम्पनीले नै नेपाल कानुनअनुसार तिर्नुपर्ने व्यवस्था भए पनि पछि गरिएको सम्झौताबाट कम्पनीलाई कर छुटको सुविधा दिइएको दाबी गरिएको छ।
आयोगले निर्माण कम्पनीले लागतभित्रै समावेश भइसकेको करसमेत भुक्तानीका रूपमा लिएर राज्यकोषमा दाखिला नगरेको र त्यसबाट दोहोरो लाभ लिएको आरोप लगाएको छ। यस प्रक्रियाबाट करिब ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी सार्वजनिक रकम हिनामिना तथा दुरुपयोग भएको अख्तियारको दाबी छ।
मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य, डण्डुराज घिमिरे, तत्कालीन महानिर्देशक सञ्जीव गौतमलगायत अन्य अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।
त्यसैगरी आयोजना निर्देशक प्रदीप अधिकारी, इन्जिनियर योगेश अर्याल, उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा निर्माण कम्पनीका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङविरुद्ध पनि मुख्य अभियुक्तसरह सजाय माग गरिएको छ।
अख्तियारले सबै प्रतिवादीसँग बराबर बिगो असुलउपर, जरिवाना तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।
