‘भिजिट नेपाल २०८५’ घोषणा, पर्यटन पुनरुत्थानलाई राष्ट्रिय अभियान बनाइने
काठमाडौं । सरकारले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०८५’ अभियान घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ लाई उक्त अभियानको तयारी वर्षका रूपमा अघि बढाइने बताएका हुन्।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पर्यटन, नागरिक उड्डयन र सेवा पूर्वाधारलाई केन्द्रमा राखेर व्यापक सुधारको संकेत गरेका छन्। कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अभियान अघि सारिएको सरकारको भनाइ छ।
सरकारले नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्ने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्ने तथा निजी क्षेत्रको सहभागिता बढाउने नीति लिएको जनाएको छ। नेपालका विमानस्थलको सेवा गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय उडान विस्तारका लागि कूटनीतिक पहलसमेत गरिने उल्लेख गरिएको छ।
यस्तै, पर्यटकमैत्री सेवा विस्तारअन्तर्गत पर्यटक भिसा प्रणालीलाई पूर्ण रूपमा अनलाइनमा रूपान्तरण गरिने भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ई–गेट प्रणाली जडान गरी आगमन र प्रस्थान प्रक्रियालाई छिटो, सुरक्षित र प्रविधिमैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ।
सरकारले पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल प्रवर्द्धन, स्मार्ट सेवा र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा जोड दिने संकेत गरेको छ। “भिजिट नेपाल २०८५” लाई केवल प्रचारात्मक कार्यक्रम नभई रोजगारी, लगानी, संस्कृति र अर्थतन्त्रसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा विकास गर्ने तयारी गरिएको देखिन्छ।
