पर्यटन पहुँच विस्तारसँगै ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
बागलुङ । नेपालको चर्चित पर्यटकीय क्षेत्र ढोरपाटन सिकार आरक्ष नजिकै पर्ने निसेलढोर क्षेत्र अब सहज सडक पहुँचसँग जोडिने भएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर जोड्ने सडक स्तरोन्नति भएपछि पर्यटन, कृषि र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षभित्र ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । कुल ७२ लाख रुपैयाँ लागतमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने तथा केही भागमा ग्राभेलिङ गर्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयको पश्चिम क्षेत्रमा अवस्थित निसेलढोर पछिल्ला वर्षमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । उच्च हिमाली दृश्य, प्राकृतिक घाँसे मैदान, हिमश्रृंखला र मौलिक ग्रामीण जीवनशैलीका कारण यो क्षेत्र विशेषगरी प्रकृतिप्रेमी र पदयात्रामा रुचि राख्ने पर्यटकको रोजाइमा पर्न थालेको छ ।
स्थानीय प्रशासनका अनुसार यसअघि सडक साँघुरो, हिलो र जोखिमपूर्ण हुँदा वर्षायाममा यातायात पूर्ण रूपमा अवरुद्ध हुने समस्या थियो । विशेषगरी ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै माथिल्लो क्षेत्रमा सडक भासिने र गाडी सञ्चालन गर्न कठिन हुने अवस्था थियो । स्तरोन्नतिपछि अब बाह्रै महिना सवारी सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गरेको जनाइएको छ । स्थानीयवासीका अनुसार सडक सहज बनेसँगै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
निसेलढोर क्षेत्र एक दशकअघिसम्म मौसमी बसोबासमा सीमित थियो । तर पछिल्ला वर्षमा सडक पहुँच विस्तार भएसँगै मानिसहरू वर्षभर बसोबास गर्न थालेका छन् । अहिले बर्खायाममा करिब ३०० र हिउँदमा झन्डै १५० घरपरिवार त्यहाँ बसोबास गर्ने गरेका छन् ।
स्थानीयवासी सम्झाना रसाइलीका अनुसार सडक अवरुद्ध हुने डरले वर्षायामअघि नै खाद्यान्न र आवश्यक सामग्री भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब सडक सुधार भएसँगै दैनिक उपभोग्य सामग्री ढुवानी सहज हुने र पर्यटन व्यवसायसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
निसेलढोर आलु, स्याउ, सिमी लगायत हिमाली कृषि उत्पादनका लागि पनि परिचित क्षेत्र हो । तर सडकको खराब अवस्थाका कारण उत्पादन बजारसम्म पुर्याउन कठिन हुँदै आएको थियो । स्थानीय कृषक कुमबहादुर घर्तीका अनुसार अब सडक सहज भएपछि कृषिजन्य उत्पादनको बजारीकरणसँगै होमस्टे र ग्रामीण पर्यटनलाई पनि टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिले साहसिक पर्यटन, ग्रामीण पर्यटन र पर्यावरणीय पर्यटनको सम्भावना थप विस्तार गर्नेछ । सडक पहुँच सहज बनेपछि आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक आकर्षित गर्ने आधार तयार हुँदै गएको उनीहरूको भनाइ छ ।
