टोड्के पुग्ने सडक सहज बन्दै, पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीय गन्तव्य टोड्केसम्म पुग्ने सडक स्तरोन्नति भएपछि पर्यटक र स्थानीय बासिन्दालाई आवतजावतमा उल्लेखनीय सहजता भएको छ। सडक सुधारसँगै टोड्के क्षेत्रको पर्यटन विकासले थप गति लिने अपेक्षा गरिएको छ।
समुद्री सतहबाट करिब दुई हजार ४३० मिटर उचाइमा अवस्थित टोड्के बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र मङ्गला गाउँपालिकाको संगमस्थलमा पर्छ। हिमालको मनोरम दृश्य, सूर्योदयको अद्भुत दृश्यावलोकन, गुराँसे वन तथा प्राकृतिक सौन्दर्यका कारण पछिल्ला वर्षहरूमा यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
टोड्केसम्म पुग्ने पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि वाखेत हुँदै राम्जाली मन्दिरसम्मको खण्डमा ढलान गरी सडकलाई पक्की बनाइएको छ। स्थानीय पूर्वाधार आयोजना पोखराको सहयोगमा सम्पन्न भएको यो योजनाले सडक यात्रालाई सुरक्षित र सहज बनाएको छ।
बेनी नगरपालिका–१० का वडाध्यक्ष मसवीर रोकाका अनुसार सडक ढलानपछि गहतेचोकदेखि राम्जाली मन्दिरसम्मको यात्रा समय उल्लेखनीय रूपमा घटेको छ। पहिले करिब २० मिनेट लाग्ने दूरी अहिले पाँच मिनेटमै पार गर्न सकिने अवस्था बनेको छ। यसले स्थानीय बासिन्दासँगै टोड्के भ्रमणमा आउने पर्यटकलाई पनि प्रत्यक्ष लाभ पुगेको छ।
सडक स्तरोन्नतिका लागि गत माघ महिनामा दुप्चेश्वर शुभम् बिल्डर्ससँग दुई करोड ३६ लाख रुपैयाँभन्दा बढीको लागतमा सम्झौता भएको थियो। एक किलोमिटर सात सय मिटर सडक सुधार गर्ने लक्ष्य राखिएको परियोजना निर्धारित समयभन्दा झण्डै दुई महिना अगावै सम्पन्न गरिएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीका अनुसार सम्झौतापछि तत्कालै उपकरण, जनशक्ति र निर्माण सामग्रीको व्यवस्थापन गरिएकाले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्न सम्भव भएको हो। निर्माण कार्य सकिए पनि प्राविधिक परीक्षण तथा भुक्तानी प्रक्रियाका केही काम भने अझै बाँकी छन्।
साढे तीनदेखि चार मिटर चौडाइको सडक ढलान गरेर पक्की बनाइएपछि स्थानीय बासिन्दामा उत्साह थपिएको छ। वाखेतका स्थानीय अर्जुन पुनका अनुसार विगतमा साँघुरो र कच्ची सडकका कारण यात्रा कठिन हुने गरेको थियो। अहिले सडक सुधार भएसँगै यात्रा सहज र सुरक्षित बनेको छ।
२०६६ सालमा ट्र्याक खुलेको यो सडक करिब १६ वर्षपछि पक्की बन्न सफल भएको हो। स्थानीय जनप्रतिनिधिहरूले राम्जाली मन्दिरदेखि बराहथान हुँदै टोड्केसम्मको बाँकी खण्ड पनि स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको बताएका छन्।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्वको अनुपम संगम रहेको टोड्केबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मानापाथी, चुरेन, गुर्जा तथा लमजुङ हिमालको आकर्षक दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिन्छ। हिमालसँग साक्षात्कार गर्दै योग, ध्यान र प्रकृतिसँग रमाउने अवसर यहाँ पुग्ने पर्यटकले प्राप्त गर्छन्।
टोड्के स्थानीय कृषि उत्पादनका लागि पनि परिचित छ। यहाँ उत्पादन हुने आलु, मुला र सिमीबाट तयार गरिएका परिकार पर्यटकको रोजाइमा पर्ने गरेका छन्। प्राकृतिक आकर्षणसँगै धार्मिक महत्वले पनि यस क्षेत्रको विशेषता बढाएको छ।
टोड्केमा रहेको तपोवन शिवालय र सिद्धथान धार्मिक आस्थाका केन्द्र हुन्। स्वर्गद्वारी आश्रम, प्यूठानको शाखाका रूपमा रहेको तपोवन शिवालयमा शिवलिङ्ग, सन्तमहात्माहरूका मूर्ति तथा महाप्रभुले प्रयोग गरेका ऐतिहासिक सामग्री संरक्षण गरेर राखिएको छ। आश्रम परिसरमा सञ्चालित गौशालाले पनि धार्मिक पर्यटनलाई थप आकर्षक बनाएको छ।
सडक पूर्वाधारमा भएको सुधारसँगै टोड्के अब केवल स्थानीय धार्मिक स्थल मात्र नभई पश्चिम नेपालकै सम्भावनायुक्त प्रकृति र पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूका अनुसार सडक पहुँच सहज बनेपछि पर्यटकको सङ्ख्या बढ्ने, स्थानीय उत्पादनको बजार विस्तार हुने र क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
