विदेशिन औसत ३.३ महिनाको तलब बराबर खर्च
Tourism Face Foreign Employment, Main News, NEWS
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले पहिलो पटक विदेश पुग्दा मासिक औसत ५४ हजार ४०३ रुपैयाँ आम्दानी गर्ने गरेको सरकारी सर्वेक्षणले देखाएको छ। तर विदेश जानुअघि गरिएको खर्च उठाउन भने औसत ३.३ महिनाको तलब बराबर समय लाग्ने तथ्य सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा सञ्चालन गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण अनुसार गन्तव्य मुलुकमध्ये मलेसियामा पुगेका नेपाली कामदारको पहिलो मासिक औसत आम्दानी सबैभन्दा बढी ५७ हजार ६९६ रुपैयाँ रहेको छ। कतार र संयुक्त अरब इमिरेट्समा यो रकम करिब ५५ हजार रुपैयाँ रहेको छ भने भारतमा काम गर्ने नेपालीको औसत मासिक आम्दानी २६ हजार ८३ रुपैयाँ मात्र रहेको पाइएको छ।
लिङ्गका आधारमा हेर्दा पुरुष कामदारको पहिलो मासिक औसत आम्दानी ६४ हजार ७२१ रुपैयाँ पुगेको छ भने महिलाको औसत ४८ हजार ६४७ रुपैयाँ रहेको छ।
पेशा अनुसार सेवा क्षेत्रमा कार्यरत कामदारले औसत ६५ हजार ३४५ रुपैयाँ कमाउने गरेका छन्। कृषि क्षेत्रमा कार्यरतको औसत मासिक आम्दानी ३४ हजार ५२८ रुपैयाँ रहेको छ भने उच्च सीप आवश्यक पर्ने पेशामा काम गर्नेहरूको औसत आम्दानी ६९ हजार ८९१ रुपैयाँ पुगेको सर्वेक्षणले जनाएको छ।
सर्वेक्षणअनुसार ३४.७ प्रतिशत नेपाली कामदारले कुनै पनि भर्ना शुल्क नतिरी वैदेशिक रोजगारीमा गएको बताएका छन्। महिलामध्ये ५४.२ प्रतिशतले शून्य लागतमा विदेश गएको जानकारी दिएका छन् भने पुरुषमा यस्तो अनुपात ३३.२ प्रतिशत रहेको छ।
भर्ना शुल्क तिर्ने पुरुष कामदारले औसत १ लाख ७६ हजार ६८६ रुपैयाँ खर्च गरेका छन्। महिलाको औसत खर्च भने २ लाख १९ हजार ३६२ रुपैयाँ पुगेको छ। यही कारण महिलालाई विदेश जानुअघि गरिएको खर्च असुल गर्न औसत ४.५ महिनाको तलब आवश्यक पर्ने देखिएको छ।
सर्वेक्षणले दर्ता नभएका एजेन्टमार्फत वैदेशिक रोजगारीमा जाने कामदारले सबैभन्दा बढी आर्थिक भार बेहोर्नुपर्ने अवस्था रहेको पनि देखाएको छ। त्यस्ता कामदारले औसत ४.८ महिनाको आम्दानी बराबर रकम भर्ना प्रक्रियामै खर्च गर्ने गरेका छन्। परिवार वा साथीभाइको सहयोगमा विदेश जानेहरूले भने सबैभन्दा कम लागत व्यहोरेको तथ्यांकले देखाएको छ।
