काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद सजाय र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना हुने फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीविरुद्ध तीन करोड आठ लाख ५० हजार ४ सय रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग दायर गरेको थियो।
अदालतले अभियोगमा उल्लेख गरिएको सम्पूर्ण रकम घुसस्वरूप प्राप्त भएको पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको उल्लेख गरेको छ। फैसलामा उक्त रकम कहाँ जम्मा गरिएको वा कसरी प्रयोग भएको भन्ने स्पष्ट तथ्य स्थापित हुन नसकेको जनाइएको छ।
यद्यपि, मुद्दाको प्रकृति, प्रतिवादीहरूको संलग्नता र उनीहरूको भूमिकालाई आधार मानी अदालतले सुनिल पौडेल र सहप्रतिवादी दीपक आनन्दलाई बिगोअनुसार दामासाहीका आधारमा समान रकम जरिबाना गर्ने निर्णय गरेको हो।
फैसलाअनुसार दुवै प्रतिवादीलाई ८ वर्ष कैद सजाय तोकिएको छ भने पौडेलले भ्रष्टाचार भएको समयमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेकाले उनलाई थप ६ महिनाको कैद सजाय सुनाइएको छ। यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ।
त्यसैगरी, अदालतले दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा जम्मा गराउन पनि आदेश दिएको छ।