बाढी–पहिरोको प्रभावः देशभरका ११ प्रमुख राजमार्गमा अवरोध
काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका ११ प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म धेरै स्थानमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ भने केही क्षेत्रमा समय तोकेर मात्र यातायात सञ्चालन गर्न दिइएको छ।
बिपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। रोशी गाउँपालिकाका पिन्थली र गिम्दिवेशी क्षेत्रमा पहिरोसहित लेदो बग्दा राजमार्ग थप प्रभावित बनेको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामभर राति सवारी आवागमनमा रोक लगाइएको छ। इलामको मेची राजमार्गमा सडक हिलोम्ये भएपछि यातायात ठप्प भएको छ, यद्यपि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था रहेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गमा जिरोकिलो र कोदारी क्षेत्रका पहिरोले यातायात अवरुद्ध बनाएको छ। भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा ढुंगा, माटो र लेदो सडकमा झरेपछि सवारी सञ्चालन रोकिएको हो।
दोलखाको लामासाघु–रामेछाप सडकमा तामाकोशी नदीको बहावले सडक कटान गरेपछि यातायात प्रभावित भएको थियो। पछि स्थानीय स्तरमा वैकल्पिक मार्ग तयार पारेर आवागमनलाई सहज बनाउने प्रयास गरिएको छ।
रसुवाको पासाङ ल्हामु सडक खण्डमा त्रिशुली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। मुगुको नाग्म–गमगडी सडकमा झ्यारी खोलानजिकै पहिरो खस्दा यातायात सेवा रोकिएको छ।
रोल्पाको शहिद राजमार्गमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ भने पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा लेदो र ढुंगासहितको पहिरोले सवारी सञ्चालन प्रभावित पारेको छ।
त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकमा बैसरी र सुकेबगर क्षेत्रमा पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
वर्षायाम सक्रिय रहेकाले जोखिमयुक्त सडकमा यात्रा गर्दा सतर्कता अपनाउन र सम्बन्धित निकायको पछिल्लो सूचना लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
