वाणिज्य बैंकको नाफा ३२ प्रतिशत उकालो, प्रभु बैंक घाटामा
काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा समग्र नाफामा उल्लेख्य सुधार गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको कुल खुद नाफा ३१.९५ प्रतिशतले बढेर ६९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५२ अर्ब ८८ करोड रुपैयाँ थियो।
नाफा वृद्धिमा केही बैंकको असाधारण सुधार देखिए पनि यसको एउटा कारण अघिल्लो वर्षको परिष्कृत र यस वर्षको अपरिष्कृत वित्तीय विवरणबीचको अन्तर पनि हो। अघिल्लो आर्थिक वर्षको अपरिष्कृत विवरणमा २० बैंकको कुल नाफा ६८ अर्ब ७७ करोड रुपैयाँ थियो।
नबिल सबैभन्दा अगाडि, प्रभु घाटामा
रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बनेको छ। बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कुमारी बैंकले ७ अर्ब ३८ करोड, ग्लोबल आइएमईले ६ अर्ब २२ करोड र एभरेष्ट बैंकले ५ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन्।
यसको विपरीत प्रभु बैंक २४ करोड रुपैयाँ खुद घाटामा गएको छ। एनआइसी एसियाको नाफा पनि निकै घटेर १८ करोड रुपैयाँमा सीमित भएको छ।
प्रावधान घट्दा नाफामा टेवा
बैंकहरूको नाफा बढ्नुमा कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने प्रावधान घट्नु प्रमुख कारण देखिएको छ। अघिल्लो वर्ष ४४ अर्ब ६९ करोड रुपैयाँ प्रावधान राखेका बैंकहरूले यस वर्ष ३७ अर्ब ३० करोड रुपैयाँ मात्रै प्रावधान गरेका छन्।
कुमारी, नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो पटक छुट्याएको केही प्रावधानसमेत फिर्ता ल्याएका छन्। कुमारी बैंकले १ अर्ब ४३ करोड, नेपाल बैंकले १ अर्ब १ करोड र स्ट्याण्डर्ड चार्टर्डले १५ करोड रुपैयाँ प्रावधान फिर्ता गरेका हुन्।
ब्याज आम्दानीमा भने सुस्त वृद्धि
बैंकहरूको खुद ब्याज आम्दानीमा भने खासै सुधार हुन सकेको छैन। यस्तो आम्दानी १ खर्ब ८९ अर्ब ८४ करोडबाट सामान्य वृद्धि हुँदै १ खर्ब ९२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
कर्जा माग अपेक्षित रूपमा बढ्न नसक्नु र ऋणीबाट किस्ता असुलीमा समस्या रहनुले बैंकहरूको ब्याज आम्दानीमा दबाब परेको देखिन्छ। बैंकिङ प्रणालीमा अझै १३ खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा लगानी हुन नसकी निष्क्रिय अवस्थामा रहेको छ।
चार बैंकको वितरणयोग्य नाफा ऋणात्मक
खुद नाफा बढे पनि सबै बैंकको वितरणयोग्य नाफा सकारात्मक छैन। हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र प्रभु बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। यी चार बैंकको कुल वितरणयोग्य नाफा करिब २१ अर्ब ६३ करोड रुपैयाँ ऋणात्मक छ।
समग्रमा बैंकहरूले औसत १३.४२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ। लाभांश क्षमता एभरेष्ट बैंकको सबैभन्दा उच्च ३८.३२ प्रतिशत छ।
खराब कर्जा बढ्यो
बैंकिङ क्षेत्रको अर्को चुनौती खराब कर्जा हो। बैंकहरूको औसत खराब कर्जा अनुपात ४.५१ प्रतिशतबाट बढेर ५.३५ प्रतिशत पुगेको छ।
पाँच बैंकको खराब कर्जा अनुपात ७ प्रतिशतभन्दा माथि छ। प्रभु बैंकको खराब कर्जा सबैभन्दा धेरै १५.५५ प्रतिशत पुगेको छ भने एभरेष्ट बैंकको सबैभन्दा कम ०.४९ प्रतिशत रहेको छ।
प्रतिसेयर आम्दानीमा सुधार
बैंकहरूको औसत प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १६ रुपैयाँ ४२ पैसा रहेको औसत ईपीएस यस वर्ष १९ रुपैयाँ ९६ पैसा पुगेको छ।
एभरेष्ट बैंकको ईपीएस ३६ रुपैयाँ ९५ पैसा रहेको छ भने नबिल बैंकको २८ रुपैयाँ ३६ पैसा र कुमारी बैंकको २८ रुपैयाँ १७ पैसा छ।
तीन बैंकको पुँजीमा दबाब
प्रभु, हिमालयन र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम ८.५ प्रतिशतभन्दा तल रहेको छ। पुँजीकोषमा परेको यस्तो दबाबले यी बैंकको थप कर्जा विस्तार क्षमतामा समेत असर पार्न सक्ने देखिन्छ।
समग्र तथ्यांकले बैंकिङ क्षेत्रमा नाफा सुधार भए पनि खराब कर्जा वृद्धि, कमजोर कर्जा विस्तार, वितरणयोग्य नाफामा दबाब र पुँजीकोषको समस्या अझै प्रमुख चुनौतीका रूपमा रहे
