युवाको विदेश यात्रा बाध्यता होइन, अवसर खोज्ने रोजाइ बन्नुपर्छ : सांसद राणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपाली युवाका लागि विदेश जानुपर्ने अवस्था बाध्यता नभई आफ्नो इच्छाअनुसारको विकल्प बन्नुपर्ने बताएकी छन्। देशभित्र पर्याप्त रोजगारी र अवसर सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भएको भन्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्यबाट स्वदेशमै सम्भावनाको वातावरण बनाउनुपर्नेमा जोड दिएकी हुन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा बोल्दै राणाले युवालाई स्वदेशमै आकर्षित गर्न आर्थिक र व्यावसायिक वातावरण सुधार गर्नुपर्ने बताइन्।
उनका अनुसार नेपालमा उद्योग, होटल, सूचना प्रविधि, अटोमोबाइल तथा उत्पादनका क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता, कानुनी अवरोध र व्यवसाय सञ्चालनका कठिनाइका कारण त्यसको पूर्ण उपयोग हुन सकेको छैन। उद्योग र व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न सकिने वातावरण निर्माण नगरेसम्म देशमै रोजगारी सिर्जना गर्न कठिन हुने उनको भनाइ छ।
उद्यमी पृष्ठभूमिबाट राजनीतिमा आएकी राणाले उद्योग सञ्चालनका क्रममा व्यवसायीले विभिन्न तहमा समस्या झेल्नुपरेको अनुभवसमेत सुनाइन्। आर्थिक विकासको आधार उद्योग र व्यवसाय भएकाले राज्यले अर्थतन्त्रलाई प्राथमिकतामा राखेर लगानी र व्यवसायमैत्री नीति बनाउनुपर्ने उनले बताइन्।
उद्योगको आवश्यकता र शिक्षाबीच तालमेल अभाव
राणाले नेपालको शिक्षा प्रणाली र श्रम बजारको आवश्यकताबीच ठूलो अन्तर रहेको बताइन्। उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति र शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्तिको क्षमताबीच तालमेल नहुँदा उद्योगले नयाँ कर्मचारीलाई लामो समयसम्म काम सिकाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
इन्जिनियरिङ, सूचना प्रविधि, वित्त, चार्टर्ड एकाउन्टेन्सीलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भए पनि अनुभव हासिल गरेपछि विदेश जाने प्रवृत्ति बढेको उनले बताइन्।
‘अटोमोबाइल उद्योगलाई ई–भेहिकल इन्जिनियर चाहिन्छ, म्यानुफ्याक्चरिङ क्षेत्रमा मेसिन अपरेटर आवश्यक हुन्छ, गार्मेन्टमा डिजाइनर चाहिन्छ र आइटी क्षेत्रमा पनि विशिष्ट सीप भएका जनशक्ति आवश्यक छन्,’ उनले भनिन्, ‘तर उद्योगको वास्तविक आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गर्न सकेका छैनौँ।’
उनले शिक्षालाई रोजगारी र उद्योगसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिइन्। विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी उद्योग, कारखाना, वर्कसप, होटल र उत्पादन केन्द्रमा व्यावहारिक अनुभव हासिल गर्ने अवसर दिनुपर्ने उनको सुझाव छ।
अप्रेन्टिससिप र इन्टर्नसिपलाई प्रभावकारी बनाउनुपर्ने
विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योगसँग जोड्न अप्रेन्टिससिप र इन्टर्नसिप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने राणाको धारणा छ। उद्योगले विद्यार्थीलाई तालिम तथा व्यावहारिक अनुभव दिने वातावरण बनाए त्यसबापत सरकारले पनि कर छुट वा अन्य प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनले बताइन्।
यसबाट विद्यार्थीले बजारको वास्तविक आवश्यकता बुझेर सीप हासिल गर्न सक्ने र उद्योगले भविष्यका लागि आवश्यक जनशक्ति तयार गर्न सक्ने उनको तर्क छ।
व्यवसाय सुरु गर्न ‘वान विन्डो’ व्यवस्था
राणाले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न व्यवसाय सुरु गर्ने प्रक्रिया सरल बनाउनुपर्ने बताइन्। कम्पनी दर्ता, कर, अनुमति, वित्तीय स्रोत र अन्य स्वीकृतिका लागि विभिन्न सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको भनाइ छ।
युवाले व्यवसाय सुरु गर्न खोज्दा राज्यले अवरोध खडा गर्ने होइन, सहजीकरण र प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनले बताइन्। रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने र नेपालमै मूल्य अभिवृद्धि गर्ने उद्योगलाई प्राथमिकताका आधारमा प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।
विदेशिने युवालाई फर्कने वातावरण
विदेशमा अवसर र आम्दानी राम्रो भएकाले नेपाली युवा आकर्षित हुनु स्वाभाविक भए पनि स्वदेशमा पनि प्रतिस्पर्धी अवसर सिर्जना गर्न सके युवालाई रोक्न सकिने राणाको भनाइ छ।
उनले विदेशमा अध्ययन तथा रोजगारीको अनुभव हासिल गरेका युवालाई नेपाल फर्किएर लगानी, उद्यम र सीप विकासमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्ने बताइन्।
नेपालमै गुणस्तरीय शिक्षा, सीपअनुकूल रोजगारी, उद्यमशीलताको अवसर र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके विदेशिने निर्णय बाध्यताको नभई व्यक्तिगत रोजाइमा परिणत गर्न सकिने उनको निष्कर्ष छ।
