कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्का अदालतमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।
दुवै नेताले वारेसमार्फत सर्वोच्चमा निवेदन पेस गरेका हुन् । सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुई फरक प्रकृतिका रिट अदालतमा पुगेका छन् ।
देउवाले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दिएका छन् । खड्काले भने यसअघि दायर भएको पुनरावलोकनसम्बन्धी मुद्दासँग आफ्नो निवेदनसमेत जोडेर हेर्न माग गरेका छन् ।
प्रवक्ता कोइरालाका अनुसार दुवै निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा छन् । अदालतले रिटको विषयवस्तु अध्ययन गरेपछि आवश्यक प्रक्रिया अघि बढाउनेछ ।
कांग्रेस केन्द्रीय समितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसअनुसार केन्द्रीय महाधिवेशनको मिति कायम राख्दै केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशनसम्बन्धी कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ ।
महाधिवेशनको कार्यतालिका अघि बढिरहेका बेला पार्टीका शीर्ष नेताहरू अदालत पुगेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप कानुनी प्रक्रियातर्फ गएको छ ।
