नेपाल बाढी संकटमा भारतको राहत, सोनु सूदको पनि सहयोग घोषणा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि नेपालका लागि भारतले मानवीय सहायता पठाएको छ। भारतले उद्धार तथा राहत कार्यमा प्रयोग हुने १० टन सामग्रीसहित अत्यावश्यक औषधि नेपाल पठाएको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्को कठिन घडीमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
भारतको राहत घोषणासँगै भारतीय अभिनेता सोनु सूदले पनि नेपालप्रति ऐक्यबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै राहत, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
विपद्पछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकाय परिचालन गरिएका छन्। सरकारले हालसम्म बाढीबाट ९५ जनाको शव फेला परेको जनाएको छ।
लगातारको बाढी र त्यसबाट भएको क्षतिले तत्काल राहतसँगै प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता पनि बढाएको छ। भारतको मानवीय सहायता र सोनु सूदको सहयोग घोषणाले विपद्को समयमा नेपाललाई प्राप्त बाह्य ऐक्यबद्धता र सहयोगलाई थप उजागर गरेको छ।
