खोज–उद्धारसँगै पुनर्निर्माणमा सर्वदलीय संयन्त्र
काठमाडौं ।भोटेकोसी क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिपछि त्यसको सामना गर्न राजनीतिक दलहरूले संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहलमा बिहीबार बसेको सर्वदलीय बैठकले उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलका नेताहरू सहभागी थिए। उनीहरूले तत्काल उद्धार र राहतलाई प्राथमिकता दिँदै विपद्पछिको पुनर्निर्माणलाई व्यवस्थित बनाउन संसदीय संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार र राहत कार्यबारे जानकारी दिइएको थियो। विभिन्न राजनीतिक दलले आफ्ना स्रोतबाट प्राप्त सूचना पनि सरकारलाई उपलब्ध गराएका थिए।
थापाले विपत्तिको तत्कालीन चरणमा उद्धार र राहतलाई केन्द्रमा राख्नुपर्ने बताउँदै दीर्घकालीन पुनर्निर्माणका लागि निरन्तर अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गरे। ठूलो आर्थिक क्षति हुने भएकाले सरकारलाई आवश्यक सुझाव दिन र राजनीतिक दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र प्रभावकारी हुने उनको भनाइ थियो।
प्रस्तावित संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दललाई समेत सहभागी गराउने तयारी छ। यसको उद्देश्य राहत वितरण, पुनर्निर्माण र सरकारी कामकारबाहीको अनुगमनलाई थप प्रभावकारी बनाउनु रहेको बताइएको छ।
विगतका विपद्मा उद्धार र राहतपछि पीडितका समस्या क्रमशः ओझेलमा पर्ने गरेको भन्दै यसपटक दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा दलहरूले जोड दिएका छन्। बैठकले राष्ट्रिय विपत्तिको सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर सहकार्य गर्ने सन्देशसमेत दिएको छ।
