भोटेकोसी बाढीपीडितका लागि ग्लोबल आईएमईको ५ करोड सहयोग
काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। सहयोगबाट बाढीमा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा योगदान पुग्ने बैंकको अपेक्षा छ।
भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
बैंकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकलाई खाद्यान्न, सुरक्षित आवास र उपचारलगायत तत्कालीन आवश्यकता पूरा गर्न तथा आगामी पुनर्निर्माणमा समेत सहयोग गर्ने जनाएको छ।
ग्लोबल आईएमईले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्का बेला सहयोग गर्दै आएको उल्लेख गरेको छ। यसअघि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीबाट प्रभावित समुदायका लागि पनि बैंकले विभिन्न प्रकारका सहयोग उपलब्ध गराएको जनाएको छ।
बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आईएमईका हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यम हुँदै नेपालमा विप्रेषण भित्र्याउँदै आएको पनि जनाएको छ
