१३ जलविद्युत आयोजनाका ९३४ जना अझै सम्पर्कबाहिर
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा मजदुरको अवस्थाबारे अन्योल सिर्जना गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन छन्।
इप्पानले सार्वजनिक गरेको विवरणअनुसार रसुवाका सात आयोजनामा कार्यरत ७३० जना र नुवाकोटका छ आयोजनामा कार्यरत २०४ जना सम्पर्कमा आउन सकेका छैनन्।
रसुवामा ७ आयोजनाका ७३० जना बेपत्ता
रसुवामा प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–३ मा सबैभन्दा धेरै कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। उक्त आयोजनामा मात्रै ५७८जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।
त्यस्तै, रसुवागढी जलविद्युत आयोजनाका १३, रसुवा–भोटेकोशीका ४, लाङटाङ खोलाका ४२, चिलिमेका ८ र मैलुङ खोलाका ७ जना सम्पर्कविहीन छन्। जिल्लाका प्रभावित आयोजनामा माथिल्लो मेलम्ची–ए समेत परेको छ।
नुवाकोटमा पनि ठूलो संख्या सम्पर्कबाहिर
नुवाकोटका त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत आयोजनामा बाढीको असर परेको छ।
यीमध्ये माथिल्लो त्रिशूली–३ ‘बी’ मा कार्यरत १५८ जना र माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाबाट भने २५४ जनाको उद्धार भइसकेको जनाइएको छ।
हेलिकप्टरबाट उद्धारको तयारी
बाढीका कारण कतिपय आयोजना तथा त्यहाँ कार्यरत व्यक्तिसम्म स्थलमार्गबाट पुग्न कठिन भएपछि तत्काल हवाई उद्धारको आवश्यकता देखिएको इप्पानले जनाएको छ।
विशेषगरी लाङटाङ, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ र चिलिमे जलविद्युत आयोजनामा तत्काल उद्धार आवश्यक रहेको उल्लेख छ। जोखिममा रहेका कर्मचारी तथा कामदारको उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने प्रयास भइरहेको छ।
भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजनाका संरचना, पहुँचमार्ग र प्रसारण पूर्वाधारमा समेत क्षति पुर्याएकाले उद्धारसँगै आयोजनाको क्षतिको यकिन विवरण संकलन गर्न पनि चुनौती देखिएको छ
