बाढीपीडितका लागि अमेरिकाले थप ३६ लाख डलरभन्दा बढी सहायता दिने
फाइल तस्विर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
काठमाडौं — नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि अमेरिकी सरकारले थप ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता घोषणा गरेको छ। उक्त सहयोगबाट करिब १० हजार बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा आएको विपद्का कारण प्रभावित नेपाली नागरिकलाई जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउन थप रकम परिचालन गर्न लागिएको जनाएको छ।
अमेरिकी सहयोगअन्तर्गत बाढी प्रभावित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक मानवीय सहायता उपलब्ध गराइनेछ। सहयोगले तत्कालको खाद्य संकट टार्न तथा विपद्बाट प्रभावित परिवारलाई केही राहत पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि पनि अमेरिकाले गरेको थियो सहयोग
नेपालमा पछिल्लो बाढी र विपद्बाट भएको क्षतिको प्रतिकार्यका लागि अमेरिकाले यसअघि नै ५ लाख अमेरिकी डलर, अर्थात् करिब ७ करोड ६० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरिसकेको थियो।
पछिल्लो घोषणा त्यसअघिको सहयोगभन्दा थप हो। अमेरिकी सरकारका अनुसार नयाँ सहायता विशेषगरी बाढीबाट प्रभावित तथा तत्काल मानवीय सहयोग आवश्यक रहेका समुदायमा केन्द्रित हुनेछ।
नेपालमा पछिल्ला दिनमा आएको भीषण बाढीले जनधनसँगै सडक, पुल, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। कतिपय क्षेत्रमा नागरिक तथा पर्यटकसमेत सम्पर्कविहीन भएका छन् भने हजारौँ प्रभावित नागरिकलाई उद्धार तथा राहतको आवश्यकता परेको छ।
यही परिस्थितिमा सरकारले स्वदेशी तथा विदेशी निकायसँग राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग जुटाउँदै आएको छ। अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त खाद्य तथा मानवीय सहयोगले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फाइल तस्विर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
