बाढीको बैंकिङ क्षेत्रमा ठूलो असर, १६ शाखा ध्वस्त हुँदा १७ करोड नगद बग्यो
काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले मानवीय तथा भौतिक संरचनासँगै बैंकिङ क्षेत्रलाई पनि ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ११ वटा वाणिज्य बैंकका १६ शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ती शाखाबाट प्रवाह भएको २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रत्यक्ष जोखिममा परेको छ ।
बाढीले बैंकका शाखा, एटीएम, भल्ट तथा क्यास काउन्टरमा रहेको ठूलो रकमसमेत बगाएको छ । प्रारम्भिक विवरणअनुसार शाखाहरूमा रहेको करिब १७ करोड रुपैयाँ नगद बाढीमा परेको छ । यसबाहेक बैंकका भवन, उपकरण, लकर, कागजात र अन्य भौतिक संरचनामा करोडौं रुपैयाँको क्षति भएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका दर्जनौं कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । वाणिज्य बैंकमा मात्रै २७ जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको बैंकहरूले जनाएका छन् । मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी तथा लघुवित्त संस्थाका ६ कर्मचारीसमेत जोड्दा सम्पर्कविहीन कर्मचारीको संख्या ३१ पुगेको सम्बन्धित संस्थाहरूले बताएका छन् ।
४ अर्ब निक्षेप जोखिममा
क्षतिग्रस्त १६ बैंक शाखामा ७३ हजार २ सय ७५ वटा निक्षेप खाता सञ्चालनमा थिए । ती खातामा करिब ३ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ निक्षेप रहेको प्रारम्भिक तथ्यांक छ ।
त्यस्तै, २ हजार २८ वटा ऋण खातामार्फत २ अर्ब ३३ करोड १३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको थियो । बाढीले शाखाका भौतिक कागजात तथा उपकरणमा क्षति पुर्याए पनि बैंकहरूको डिजिटल प्रणालीमा अधिकांश ग्राहक विवरण सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकहरूको प्रारम्भिक भौतिक क्षति करिब ५५ करोड १६ लाख रुपैयाँ बराबर अनुमान गरिएको छ । कृषि विकास बैंकको त्रिशूली शाखामा सबैभन्दा ठूलो क्षति भएको जनाइएको छ । आफ्नै भवनमा सञ्चालित उक्त शाखा पूर्णरूपमा क्षतिग्रस्त हुँदा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । शाखाका ६४ वटा लकरसमेत बाढीले बगाएको वा क्षति पुर्याएको छ ।
एटीएम र भल्टमा रहेको रकमसमेत बग्यो
बाढीका कारण १५ वटा शाखाको भल्टमा रहेको १५ करोड २ लाख रुपैयाँभन्दा बढी नगद बगाएको प्रारम्भिक विवरण छ । त्यस्तै, सात वटा बैंकका एटीएमको अवस्था अझै स्पष्ट छैन । ती एटीएममा करिब १ करोड ७ लाख ५६ हजार रुपैयाँ नगद लोड गरिएको थियो ।
कृषि विकास बैंकको त्रिशूली शाखाको भल्टमा रहेको १ करोड ७१ लाख रुपैयाँभन्दा बढी, क्यास काउन्टरको ४२ लाख तथा एटीएममा रहेको ५ लाख ६५ हजार रुपैयाँसमेत बाढीमा परेको छ ।
हिमालयन बैंकको बेत्रावती शाखाको एटीएममा रहेको ३५ लाख रुपैयाँभन्दा बढी र भल्टमा रहेको करिब २ करोड ९० लाख रुपैयाँसमेत बाढीमा परेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्याफ्रुबेसी र टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा रहेको करोडौं रुपैयाँ पनि बाढीले बगाएको प्रारम्भिक विवरण छ ।
एनआईसी एसिया, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, सानिमा, एनएमबी, ग्लोबल आईएमईलगायतका बैंकका शाखा तथा एटीएम र भल्टमा समेत क्षति पुगेको छ ।
जलविद्युत् क्षेत्रमा लगानीसमेत जोखिममा
बाढीबाट बैंकिङ क्षेत्रको प्रत्यक्ष भौतिक क्षतिसँगै कर्जा लगानीमा समेत जोखिम बढेको छ । प्रभावित क्षेत्रमा बैंकहरूले सहवित्तीयकरणसहित विभिन्न १३ वटा जलविद्युत् आयोजनामा ठूलो लगानी गरेका छन् ।
करिब ६७५ मेगावाट क्षमताका ती आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि बैंकहरूको अर्बौं रुपैयाँ लगानी प्रभावित हुने जोखिम देखिएको छ । आयोजनाको पुनर्निर्माण र सञ्चालनमा ढिलाइ भए बैंकहरूको निष्क्रिय कर्जा बढ्न सक्ने चिन्ता पनि देखिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार अहिले बैंकहरू प्राथमिकताका साथ आफ्ना कर्मचारीको खोजी तथा उद्धारमा केन्द्रित छन् । प्रभावित शाखाबाहेक रसुवा र नुवाकोटका अन्य स्थानमा रहेका बैंक शाखाबाट भने विद्युत् तथा सञ्चार सेवा क्रमशः सुचारु भएपछि नियमित बैंकिङ सेवा सुरु भइसकेको उनले बताए ।
बाढीबाट भएको वास्तविक क्षतिको पूर्ण विवरण संकलन भइरहेको र त्यसको प्रारम्भिक आधिकारिक तथ्यांक तयार गर्ने काम जारी रहेको बैंकर्स संघले जनाएको छ ।
