बाढी प्रभावितलाई टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सुविधा अर्को सूचना नभएसम्म निरन्तरता दिने भएको छ ।
कम्पनीले यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलका साथै दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराएको थियो । राहत, उद्धार तथा प्रभावित नागरिकबीच सञ्चार सम्पर्क सहज बनाउन उक्त सुविधा थप समय सञ्चालन गर्ने निर्णय गरिएको टेलिकमले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका ग्राहकले आवश्यकताअनुसार निःशुल्क सेवाको उपयोग गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ ।
विपद्का कारण नेपाल टेलिकमका केही दूरसञ्चार संरचनामा समेत क्षति पुगेको छ । यद्यपि सेवा अवरुद्ध हुन नदिन तथा क्षतिग्रस्त पूर्वाधार मर्मत गरी पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिएको कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार क्षति पुगेका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी संरचनालाई पनि सकेसम्म छिटो सञ्चालनमा ल्याउने गरी मर्मतको काम भइरहेको छ ।
बाढीका कारण सडक तथा अन्य सञ्चार माध्यम प्रभावित भएका बेला निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवाले प्रभावित नागरिकलाई परिवारसँग सम्पर्क गर्न तथा उद्धार र राहतमा खटिएका निकायसँग सूचना आदानप्रदान गर्न सहयोग पुग्ने टेलिकमको अपेक्षा छ ।
