बाढीपीडितको खोजी, उद्धार र पुनःस्थापनाका लागि शाइन रेसुङ्गाको ६५ लाख सहयोग
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो।
कुल सहयोगमध्ये बैंकको तर्फबाट ५५ लाख रुपैयाँ र बैंकका कर्मचारीबाट १० लाख रुपैयाँ संकलन गरी ६५ लाख रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ।
हालैको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवनसमेत अस्तव्यस्त बनेको अवस्थामा राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहेको जनाउँदै सरकार तथा सम्बन्धित निकायबाट सञ्चालन भइरहेका खोजी, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सहयोग र ऐक्यबद्धता रहने जनाएको छ।
बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीपछि अझै सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैंकले गरेको छ।
