असोज ६ मा न्युयोर्क जाँदै प्रधानमन्त्री शाह, ८ गते महासभामा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन्। न्युयोर्कमा हुने महासभालाई उनले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। यसअघि महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तयारी थियो।
तर रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने आवाज उठेको थियो।
महासभाको सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका संकट र त्यसबाट सिर्जित जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
विशेषगरी बाढी, पहिरो लगायत जलवायुजन्य विपद्का कारण नेपालले बेहोर्नुपरेको क्षति तथा जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने सरकारको तयारी छ।
भोटेकोसी बाढीपछि जलवायु परिवर्तनका असर र त्यसबाट नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
