जेनजी शहीद दिवसमा प्रधानमन्त्री बालेनको सन्देश : ‘सुशासन कायम भएरै छाड्छ’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारविरोधी मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
जेनजी शहीद दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले युवा पुस्तालाई सुशासन कायम हुने आश्वासन दिएका हुन्।
उनले संक्षिप्त सन्देशमा लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ।’
गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेको थियो। उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरणमा यस वर्ष सरकारले भदौ २३ गते जेनजी शहीद दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ।
प्रधानमन्त्री शाहले दिवसका अवसरमा आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उक्त आन्दोलनपछि मुलुकको राजनीतिमा महत्वपूर्ण परिवर्तन आएको थियो। त्यसपछि भएको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्को सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो।
प्रधानमन्त्री शाहको पछिल्लो सन्देशले जेनजी आन्दोलनले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका मुद्दालाई सरकारले प्राथमिकतामा राखेको संकेत गरेको छ।
