ककपिटमै दुई पाइलटबीच विवादपछि विमान साउदीमा अवतरण
काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानमा दुई पाइलटबीच झडप भएपछि विमानलाई साउदी अरबतर्फ मोडेर आकस्मिक अवतरण गराइएको छ।
फ्लाइदुबईको एफजेड–१०७३ उडान बुधबार साउदी अरबको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको हो। विमानमा रहेका यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ।
घटनाका क्रममा विमानबाट आपत्कालीन संकेत प्रसारण भएपछि केही समय विमान अपहरणमा परेको आशंका गरिएको थियो। त्यसपछि इजरायलले आफ्नो वायुसेनाका लडाकु विमानसमेत परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तर पछि इजरायली अधिकारीहरूले विमान अपहरणमा नपरेको स्पष्ट पारेका थिए। प्रारम्भिक विवरणअनुसार उडानकै क्रममा दुई पाइलटबीच शारीरिक झडप भएको थियो। उनीहरूबीच विवाद सुरु हुनुको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले सुरुमा ‘७७००’ आपत्कालीन संकेत प्रसारण गरेको थियो। त्यसपछि ‘७५००’ कोड पठाइएको थियो, जुन विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको सम्भावना जनाउने संकेत हो। केही समयपछि फेरि ‘७७००’ कोड प्रसारण गरिएको थियो।
उडानका क्रममा विमानको उचाइसमेत तीव्र रूपमा घटेको तथ्यांकले देखाएको छ। करिब दुई मिनेटको अवधिमा विमानले १७ हजार ४०० फिटभन्दा बढी उचाइ गुमाएको बताइएको छ। अर्को विवरणअनुसार विमान करिब ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो।
घटनाको जानकारी पाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्रीले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए। इजरायली सेनाले आपत्कालीन संकेत प्राप्त भएपछि लडाकु विमान परिचालन गरिएको पुष्टि गरेको छ।
केही इजरायली सञ्चारमाध्यमले झडपका क्रममा एक पाइलटले अर्कामाथि चक्कुले आक्रमण गरेको दाबी गरेका छन्। यात्रु तथा चालक दलका सदस्यहरूले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको बताइए पनि यी विवरणको स्वतन्त्र पुष्टि भइसकेको छैन।
विमान तबुकमा सुरक्षित अवतरण गरेपछि फ्लाइदुबईले यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको छ। घटनाबारे सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी अनुसन्धानमा सहयोग गरिरहेको कम्पनीको भनाइ छ।
इजरायल र साउदी अरबबीच औपचारिक कूटनीतिक सम्बन्ध नरहेकाले तबुकमा अवतरण गरेका यात्रुहरूलाई इजरायल फर्काउने विषयमा समेत विशेष समन्वय आवश्यक परेको छ। फ्लाइदुबईले यात्रुहरूलाई तेल अभिभ पुर्याउन अर्को विमान पठाउने तयारी गरेको जनाएको छ।
व्यावसायिक विमानमा पाइलटबीच झडप भएको घटना यो पहिलो भने होइन। सन् २०२२ मा जेनेभाबाट पेरिसतर्फ उडेको एयर फ्रान्सको विमानमा पनि दुई पाइलटबीच ककपिटमै हात हालाहाल भएको घटना सार्वजनिक भएको थियो। चालक दलका अन्य सदस्यले उनीहरूलाई छुट्याएका थिए र विमान सुरक्षित रूपमा गन्तव्यमा पुगेको थियो।
घटनाको वास्तविक कारण, झडपका क्रममा विमान सञ्चालनमा परेको प्रभाव र आपत्कालीन संकेत प्रसारणको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको।
