प्राविधिक ज्ञानलाई नीति र विकासमा उपयोग गर्न प्रधानमन्त्री शाहको आग्रह
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवलाई मुलुकको विकासमा प्रयोग गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा रहेका इन्जिनियरिङ तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, प्राविधिक पक्ष र नयाँ सोचमा केन्द्रित हुन सुझाव दिएका हुन्।
छलफलमा शाहले सांसदहरू आफैं प्राविधिक विषयका जानकार भएकाले नीति निर्माणको तहमा आफ्नो विशेषज्ञताको अधिकतम प्रयोग गर्नुपर्ने बताएका थिए।
उनले पार्टीगत राजनीतिसँगै सांसदहरूले आफ्नो पेशागत दक्षता र पहिचानलाई पनि निरन्तरता दिनुपर्ने धारणा राखे। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा मुलुकको विकाससँग सम्बन्धित प्राविधिक विषयमा ध्यान दिन उनले आग्रह गरेका थिए।
प्रधानमन्त्री शाहले छलफलमा सहभागी सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिको संज्ञा दिँदै यस्ता व्यक्तिहरू घटना वा व्यक्तिकेन्द्रित विषयमा मात्र सीमित नहुने बताएका थिए।
उनका अनुसार असाधारण व्यक्तिहरूले नयाँ विचार र त्यसको कार्यान्वयनमा ध्यान दिन्छन्। नयाँ सोच र योजनामा केन्द्रित भएर काम गर्न सके पाँच वर्षमै मुलुकको विकासमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।
छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह तथा सांसदहरू तपेश्वर यादव, जगदीश खरेल, आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामालगायत सहभागी थिए।
प्रधानमन्त्री शाहले प्राविधिक विज्ञता भएका सांसदहरूको अनुभवलाई नीति निर्माणसँग जोडेर विकासका विषयमा ठोस योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।
