जलवायु परिवर्तनसँग जुध्न विकसित राष्ट्रले नेपाललगायतका विकासशील राष्ट्रलाई वार्षिक ३०० डलर बिलियन सहयोग गर्ने

टुरिजमफेस
काठमाडौं । जलवायु परिवर्तनसँग जुध्न विकसित राष्ट्रहरूले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन डलर सहयोग गर्ने सहमति गरेका छन् ।
अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग गर्न सहमति गर्दै कोष स्थापना गर्ने भएका हुन् ।
सन् २०२० मा पनि विकसित राष्ट्रहरूले जलवायु कोष बनाउने प्रतिबद्धता जनाएका थिए तर उक्त कोषको रकम अपेक्षित परिचालन नभएपछि आलोचना हुँदै आएको छ ।
अहिलेको यो सहमतिले गरिब देशहरूलाई जलवायु परिवर्तनको प्रभावहरूसँग जुध्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ । कोषको उचित परिचालन भए नेपालजस्ता जलवायु परिवर्तनबाट असर भोगिरहेका मुलुकले लाभ लिन सक्नेछन् ।
बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने बजारका नियमहरूमा पनि सहमति भएको छ । कार्बन क्रेडिट खरिद–बिक्रीको लामो बहसपछि बाकु सम्मेलनमा सफलता हासिल गरेको हो । नेपालले हाल कार्बन ग्यास ०.०२७ प्रतिशत उत्सर्जन गरिरहेको छ । तर, जलवायु परिवर्तनले पार्ने जोखिममा नेपाल विश्वको १०औं नम्बरमा छ । जलवायु परिवर्तनमा ठूला र विकसित मुलुकको असर बढी रहेको छ ।