नयाँ गन्तव्यको खोजीमा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटर

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजीका लागि ’कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम सुरु गरेको छ । बोर्डले मंगलवार काठमाडौंमा पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि कार्यक्रम गरेको हो ।
कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्मका पर्यटकीय गन्तव्यको प्रस्तुति गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यहरूको विषयवस्तु प्रस्तुत गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारमा नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपुर उपयोग गर्नुपर्ने बताए ।
उनले लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको उल्लेख गर्दै पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकोले नेपालमा पनि नयाँ गन्तव्यहरूको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने अवस्था आएको बताए । जोशीले आगामी दिनमा पर्यटन प्रवद्र्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकोसमेत बताए । कार्यक्रममा पत्रकार तथा लेखक कनकमणि दीक्षितले पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रियटरहरूलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न प्रेरित गरे ।
‘पर्यटन प्रवर्द्धनका लागि परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने अवस्था आएको बेला बोर्डको प्रयास सकारात्मक हो,’ उनले भने । कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित विभिन्न सामग्री प्रस्तुत गरे ।