शिक्षक आन्दोलन स्थगित, यी हुन् सहमतिका बुँदा

टुरिजमफेस
काठमाडौं । करिब एक महिनादेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित भएको छ । शिक्षकका ९ बुँदे मागमा सरकारले सहमति जनाएपछि शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार मन्त्रिपरिषद् बैठकले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तका अनुसार शिक्षकहरूसँग भएका सहमति पूरा गर्न राज्यले थप ८ अर्ब रूपैयाँ बेहोर्नुपर्ने छ ।
यी हुन् सरकारसँग भएका सहमति
१. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।
२. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
३. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
४. शिक्षक, कर्मचारीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
५. अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी (करार) साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट प्रदान गर्ने ।
६. निम्न माध्यमिक, प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।
७. आगामी आर्थिक वर्ष २०८२÷०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने ।
८. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
९. सडक आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।