‘नेपालमा पर्यटन, ऊर्जा जस्ता क्षेत्रमा लगानीको सम्भावना’

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।
नेपालस्थित चिनियाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधि तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएको दुवै देशका प्रतिनिधि मण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कुनै संकोच नमानी लगानी गर्न आग्रह गरे । ‘चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु,’ ढकालले भने ।
यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा चिनियाँ प्रतिनिधि मण्डलसंग छलफल भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफुहरू तयार रहेको बताए ।
महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन् ।
महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताको लागि थप सहयोग एवं सहकार्यका लागि आग्रह गरे । वैशाख २५ देखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन यतिबेला चिनियाँ र बंगलादेशी व्यवसायीको समुह नेपालमा छ ।