सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालले गरे सगरमाथाको सफल आरोहण

टुरिजमफेस
काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।
जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वङ्दी शेर्पाले जानकारी गराएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित विदाइ गरेका थिए । छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालकोसमेत सफल आरोहण गरेका थिए । ‘तराई–पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल’ भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहणका लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।