एक हजार र ५० का नयाँ नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय

टुरिजमफेस
काठमाडौँ । अर्थविदहरूले आर्थिक सुशासनका लागि कम्तीमा एक हजार र पाँच सय रूपैयाँ छाप्न बन्द गर्नुपर्ने बताइरहेको बेला नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले एक हजार र ५० रूपैयाँका नयाँ नोट छाप्ने पहिलो निर्णय गरेका छन् ।
शपथग्रहण लगत्तै बालुवाटारस्थित नेपाल राष्ट्र बैंक पुगेर उनले गभर्नरको कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । पहिलो निर्णयसँगै आवश्यकताअनुसार नयाँ नोट छपाइ हुने आचार्यले बताए ।
राष्ट्र बैंक पुग्दा पौडेललाई डेपुटी गभर्नर डा. निलम ढुंगानाले भने स्वागत गरिनन् । उनी पनि गभर्नर बन्न दौडमा थिइन् । तर नेपाली कांग्रेसको भागमा परेको गभर्नरका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र पछि पौडेलको नाम प्रस्ताव गरेका थिए ।
ढुंगानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर बनाउन चाहेका कारण भट्टको राजीनामा स्वीकृत नगर्दा पौडेलले गभर्नर बन्ने अवसर पाए । पौडेलको स्वागतमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र र कर्मचारी भने सहभागी भए ।